ईमधेश न्यूज सम्वाददाता,
काठमाडौं, ०१ भाद्र
जनता समाजवादी पार्टी (जसपा) नेपालको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गरेका ६७ बुँदे समसामयिक राजनीतिक निर्णयहरु सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन लगायतका विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेका छन् ।
काठमाण्डौ स्थित काठमाण्डौ ब्याङ्क्वेटबाट जसपा नेपालले भदौ ९ गते चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछ । पार्टीका अध्यक्ष यादवले एक कार्यक्रमका बीच अभियानको उद्घाटन कार्यक्रम रहेको छ ।
जसपाले आफ्ना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणको लागि खटाएको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ अभियन्ताका रुपमा पालिकामा खटाइएका अभियन्ताहरूको लागि दश वटा नियम र आचारसंहिता तोकेको छ।
४ महिने आधारभूत सङ्गठन निर्माण अभियानमा खटिएर जाँदा अभियन्ताले पालन गर्नुपर्ने नियम र आचारसंहिता तय गरेको नेता पूर्ण बस्नेतले बताए। उनकाअनुसार अभियन्ताले बैठक र कार्यक्रमको सुरूवात तोकिएको समयमै गर्नुपर्ने तथा आसनग्रहण र सम्बोधनमा कम समय खर्चिनु पर्ने, कार्यक्रमलाई भड्किलो, खर्चिलो र आडम्बरयुक्त बनाउन पाइने छैन।
यस्तै, जात, लिङ्ग, वर्ग, क्षेत्र, पेसा, शिक्षा, भाषा र धर्मको आधारमा कसैलाई अपमान गर्न तथा व्यक्तिगत घोचपेच र आरोप प्रत्यारोप गर्न नपाइने उनले बताए। अभियन्ताले आफ्नो कुरा अपिलको शैलीमा राख्नुपर्ने छ साथै छोटो र मीठो बोल्नुपर्ने छ । अभियन्ताले पदलाई पुरस्कार हैन जिम्मेवारीको रुपमा ग्रहण गर्नुपर्ने छ ।
अभियन्ताले परिणामुखी काम गर्ने तथा आफ्नो कामको रिपोर्ट बनाएर पार्टीलाई बुझाउनु पर्ने छ । पार्टीभित्र छलछाम, षड्यन्त्र र गुटबन्दी गर्न पाइने छैन । साथै अभियन्ता अध्ययनशील, मेहनती र सक्रिय रहनु पर्ने छ ।