इमधेश न्यूज सम्वाददाता,
जनता समाजवादी पार्टी नेपालले यही भाद्रको पहिलो साता पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्ने लक्ष्य निर्धारण गरेर आधारभूत संगठन निर्माण अभियान सुरु गर्दैछ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नेगरी तयार गरिएको संगठन निर्माण अभियान मङ्सिरको मसान्तसम्म जारी रहनेछ ।
जसपा नेपालले केन्द्रीय र प्रदेश सत्ताबाट बाहिर बसेको बेला सिंगो पार्टी पङ्क्ति आगामी चार महिनासम्म विशुद्ध संगठन निर्माणमा होमिँदैछ । जसपा नेपालले त्यसका लागि आफ्ना केन्द्रीय नेतृत्वलाई एक दिवसीय प्रशिक्षण समेत दिएको छ ।
आइतबारदेखि ललितपुरको महालक्ष्मीस्थान ६, सानोगाउँको थसी ब्यांक्वेटमा जारी केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन दुई सय १५ जना केन्द्रीय सदस्यहरूलाई संगठन निर्माण अभियानबारे प्रशिक्षण दिइएको छ ।
केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी चार महिनासम्म संगठन निर्माण, बिस्तार, शुद्धिकरण र सुदृढीकरण अभियानमा होमिन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।
‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण’ नाम दिइएको सो अभियानलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सक्रिय भएर लाग्न अध्यक्ष यादवले केन्द्रीय सदस्यहरूलाई आह्वान गरेका छन् ।
संगठनलाई चुस्त दुरुस्त र बलियो बनाउनु त छँदैछ, पार्टी फुटाएर गएका लोभी, स्वार्थी र अवसरवादीहरुले आम समुदायमा छरेको भ्रमलाई चीर्ने र उत्पीडित समुदायको नेतृत्व गरेको एकमात्र पार्टीलाई क्षति पु¥याउनेको भण्डाफोर गर्ने उद्देश्यले यो अभियान सुरु गर्न लागेको अध्यक्ष यादवले बताए ।
पार्टी संगठन टोल, बुथ, वडा, गाँउ, नगर, प्रदेश, संघीय निर्वाचन क्षेत्रमा समिति गठन÷पुनर्गठन, संगठन विस्तार, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, जनसभा, लगायत अन्य कार्यक्रमहरू गर्ने र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गरिने बताइएको छ ।
जसपा नेपालले देशव्यापी रूपमा जनपरिचालन अभियान, जसमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रमहरू तय भएको जनाएको छ ।