लिलाकान्त यादव,
राजविराज, ०१ माघ ।
मधेश प्रदेशका जिल्लामा माघ १ गतेलाई माघेसङ्क्रन्ति, मकरसङ्क्रान्ति, तिलासङ्क्रान्तिका रूपमा सबै जातजातिले फरक तरिकाले मनाउने गरेका छन । तराईका मिथिलावासी, थारू, बातरसहित अन्य समुदायमा सङ्क्रान्ति पर्व उत्सवका रूपमा मनाइने गरिएको छ । माघेसङ्क्रान्ति दिनदेखि रात छोटो र दिन लामो हुने गर्छ ।
यस दिन परिवारका ठुलाबडा र आमाबुवाले आफ्ना सन्तानलाई सक्खर (स्थानीय भाषामा गुड र तिल मिसाएर खाने चलन छ ।
यस दिन विशेष गरी खिचडी, तिल, चिउरा तथा भुजा (मुरही) का लड्डुलगायतका परिकार तयार पारी पूजापाठ गरेर सर्वप्रथम घरका देवदेवीलाई चढाएर खाने र खुवाउने संस्कार रहेको छ । भगवान्लाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ ।
यस पर्वमा गुर खिचडी खान अनिवार्य भएकाले खिचडी पर्वले पनि यसलाई जानिन्छ । तिल तथा सक्खरबाट बनाइएको लड्डु ब्राह्मणलाई दान गरिन्छ । यस पर्वमा तिल र चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिल वा च्युरा वर्ष पनि भन्ने गरिन्छ । आफ्ना लागि वा पितृका लागि सम्पन्न व्यक्तिले जुत्ता, छाता, रुमाल र कम्बल पनि दान गर्छन् । मकरसङ्क्रन्तिका दिन घिउ र कम्बल दान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ । तिल र घ्यु खाने अनि शरीरमा तेल घस्नाले शरीरबाट चिसो हट्ने विश्वास छ ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रन्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने विश्वास छ । माघीको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पापबाट मुक्ति पाइने विश्वास रहेको छ ।
यसरी नै थारू समुदायले तीन दिनसम्म मनाउने सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन प्रायः घर घरमा सुँगुर काट्ने चलन छ । यसलाई जिता मरना दिन भनिन्छ । पुस मसान्तमा घर घरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड (रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । यस्तो चलन पूर्वी तराईको थारू समुदायमा भन्दा पश्चिमी थारूमा बढी मात्रामा रहेको पाइन्छ । कतिपय स्थानका थारू र बातर समुदायले माघ पर्व एक हप्तासम्म मनाउने गर्छन् । माघ १ लाई नेपाल सरकारले २०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक बिदा दिँदै आएको छ ।