ईमधेश न्यूज सम्वाददाता,
जनकपुरधाम, १९ पौष ।
अयोध्यामा निर्माण राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामबाट आज भार पठाइएको छ।
बिहीबार बिहान मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका नेता विमलेन्द्र निधिसहितले भार टोलीलाई बिदाइ गरेका छन्।
भारतको उत्तर प्रदेश अयोध्या स्थित श्री राम जन्मभूमि मा नवनिर्मित मन्दिरको उद्घाटन एवं भगवान रामको प्राणप्रतिष्ठाको यज्ञको अवसर पारेर जानकीको माइती घर जनकपुरधामबाट कोसेली९सनेश० अयोध्यातर्फ बिहीबार पठाइएको छ । जानकी मन्दिरको अगुवाईमा अयोध्या पठाउन लागेको सो कोसेली टोलीलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विदाई गर्नुभएको छ । जानकी मन्दिर परिसरमा आज बिहान आयोजित विदाई कार्यक्रममा मुख्यमन्त्री यादवले कोसेली उठाएर विदाई गर्नुभएको हो । आउँदो २२ तारेखको अयोध्यास्थित राम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम छ ।
हिजो साँझदेखि जनकपुरधाम नगरवासीले आफ्ना–आफ्ना घरबाट ल्याएका भार कोसेली जानकी मन्दिरपरिसरमा संकलन गरिएको थियो। करिब १५ सयभन्दा बढी भार अयोध्या पठाइएको छ। भारसँगै यहाँ उद्योगी–व्यापारीले तथा नागरिकले सुनचाँदीका गरगहनासमेत पठाएका छन्।