ईमधेशन्यूज सम्वाददाता,
जनकपुरधाम, १५ मंसिर ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रदेशको आठ वटै जिल्ला सदरमुकाममा सीसीटीभी क्यामरा जडान हुने बताउनुभएको छ ।
शुक्रबार प्रदेशका राजधानी जनकपुरधाम स्थित मधेश प्रदेश प्रहरी कार्यालय भवनको शिलान्यास गर्नुहुँदै प्रदेश सरकारले सुरक्षाव्यवस्थालाई थप बलियो बनाउन आठ वटै जिल्लाको सदरमुकाममा यसै वर्षमा सीसीटीभी क्यामरा जडान गर्न लागेको जानकारी दिनुभएको हो।
बारा जिल्लाको घटनामा दिनदहाडै एक नीजि विद्यालयका प्रिन्सिपलको हत्या भएको स्मरण गर्नुहुँदै – “पुरानो सीसीटीभी क्यामरा फुटेजको सहयोगमा अपराधि पक्राउ परेको हुँदा सिसि टिभी क्यामराको महत्व लाई उधृत गर्दै एवं प्रदेशमा रहेको सुरक्षा चुनौतीको मध्यनजर गरेर सरकारले कुनै प्रकारको ढिलासुस्ती नगरी सुरक्षाव्यवस्था चुस्तदुरुस्त राख्न सुरक्षा निकायलाई हरसम्भव सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो ।
मधेश प्रदेशमा कार्यरत्त प्रहरीका लागि प्रदेश सरकारले यसै वर्ष आवश्यक मेट्रेस(ओछ्याउने सामग्री) को व्यवस्था मिलाउँछ, मुख्यमन्त्री यादवले भन्नुभयो–प्रहरी चौकीहरुमा सवारीसाधनको लागि १५ करोड रुपैयाँ उपलब्ध गराउन लागेको छु । यसले प्रदेशको सुरक्षाव्यवस्था सुदृढ पार्न सहयोग पुग्नुका साथै सुरक्षा निकाय उच्च मनोवलका साथ अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।
प्रहरी समायोजन नहुँदा समस्या भएको जिकिर गर्नुहुँदै मुख्यमन्त्री यादवले प्रदेश मातहत प्रहरी आएपछि सबै सुविधा उपलब्ध गराउने बताउनुभयो ।
प्रहरी प्रदेश सरकार मातहत आएमा राजश्व घट्ने होइन्, डेढ गुणाले बढ्ने दावी उहाँले गर्नुभयो ।
प्रहरी प्रदेश मातहतमा जाँदा राजश्व घट्ने संघीय सरकारको शंका छ ।
सो अवसरमा गृह, संचार तथा कानून मन्त्री मोहम्मद समीमले मधेशमा प्रहरीको बिस्तारा(ओछ्यान) लिएर हिड्ने प्रचलनको अन्त्य गर्ने बताउनुभयो । प्रहरीको सरुवा हुँदा आफ्नो विस्तारा लिएर जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ, उहाँले भन्नुभयो–यो बाध्यतालाई छिट्टै अन्त्य गरिन्छ । प्रदेशका चौकी र थाना निर्माण, पुर्ननिर्माण, मर्मत सम्भार लगायतको कार्य गर्न १८ करोड रुपैयाँ छुटट्याइएको उहाँले जानकारी दिनुभयो ।
नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरले प्रहरीको लागि चौकी, थाना निर्माणका साथै सवारीसाधनको समेत व्यवस्था गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
२३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा मधेश प्रदेश प्रहरी कार्यालय हालको संघीय प्रहरी कार्यालय परिसरमा निर्माण हुन लागेको हो ।
१८ महिनामा निर्माण हुने सम्झौता गरिएको उक्त भवन अतिआधुनिक रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा प्रदेश सरकारले निकासा गरेको बजेटबाट लिफ्टसहितको चारतल्ले मधेश प्रदेश प्रहरी कार्यालय निर्माण हुन लागेको हो ।