लिलाकान्त यादव,
राजविराज, २८ फाल्गुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नपाका कर्मचारीहरुले आईतवार एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रेका छन् ।
नगरपालिकाका जनप्रतिनिधिहरुबाट सार्वजानिक कार्यक्रममा कर्मचारीहरुले असक्षम भएको टिप्पनी जस्ता अभद्र अभिब्यक्ति जस्ता चरित्र हत्या भएको विरुद्ध जनप्रतिनिधिले आफ्नो व्यवहारमा सुधार गर्नुपर्ने माँग राखी आन्दोलनमा उत्रेका हुन् ।
विज्ञप्तिमा नगरको व्यवस्थामा स्थानीय सरकारको भिजन, सोच तथा निति निर्माण तय गर्नका लागि जनप्रतिनिधिहरुले कर्मचारीसंगको समन्वय सहकार्य अपरिहार्य भएको ठहर गर्दै कार्यालयमा कार्यालय प्रमुख नभएको बेलामा कार्यालय प्रमुखका गाडी चालकलाई डरधाक धम्की दिई साँचो खोसेर उपप्रमुखलाई बुझाएको प्रति नगरका सम्पूर्ण कर्मचारीहरुको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
सक्षम एवं नियमानुसार आफ्नो दायित्व वहन गर्ने कर्मचारीहरु माथि पटक–पटक गलत मनसाय राखी कर्मचारीहरुको मनोबल कम्जोर पार्ने र हत्तोत्साहित गर्ने कार्य बन्द गरी देहायमा उल्लेखित शर्तहरु पुरा नहुञ्जेल विद्यालयमा पठन–पाठन, स्वास्थ्य सेवा लगायत अत्यावश्यक सेवा बाहेक सबै कामकाज ठप्प रहने विज्ञप्तिमा उल्लेख छ ।
कर्मचारी सम्बन्धित कुनै गुनासो ÷ विषय भए सोको सुधारको लागि कार्यालय प्रमुखलाई जानकारी गराउने वा कार्यपालिका बैठकमा औपचारिक एवं तर्कसंगत रुपमा स्पष्टीकरण लिने , प्रशासनलाई पूर्ण रुपमा राजनीतिक हस्तक्षेप विहिन बनाउनु पर्ने , कार्यालय प्रमुख चढ्ने गाडीको साँचो अविलम्ब सम्पूर्ण कर्मचारीहरुको रोहवरमा फिर्ता गर्नुपर्ने , कर्मचारीहरुको सवालमा कानुन विपरितको प्रसंगहरु ल्याई हतोत्साहित गर्ने कार्य बन्द गर्नुपर्ने , कर्मचारीहरु उपर गरिने अभद्र व्यवहारहरु रोकिनु पर्ने र कर्मचारी तथा जनप्रतिनिधिहरुको सु – सम्बन्ध कायम गरी सहज परिवेशमा कार्यसम्पादन हुने वातबरण गर्नुपर्ने
माँगहरु राखि सो मांग पूरा हुने प्रतिबद्धता भए मात्र आन्दोलन स्थागित गरिने नगरका सम्पूर्ण कर्मचारीहरुको हस्ताक्षर भएको विज्ञप्तिमा राखिएको छ ।