लिलाकान्त यादव,
सप्तरी, १९ मङ्सिर ।
सप्तरीको राजविराज स्थित कारागारमा रहेका कैदिबन्दी, प्रहरी र कर्मचारीहरुका लागि शुक्रवार राजविराज जेसीजले एक कार्यक्रम गरी सेनेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ ।
कारागारमा रहेका कैदीबन्दी, कर्मचारीहरुको समस्यालाई मध्यजगर गर्दै उक्त सामग्री वितरण गरिएको जेसीजले जनाएको छ ।
हस्तान्तरण गरिएको सामाग्रीमा १० लिटर सेनेटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिनुभयो । महासचिव एवम् जेसीज सप्ताह मूल समारोह समितिका संयोजक खेलानन्द दासद्वारा सञ्चालित सो सामग्री वितरण कार्यक्रमका संयोजक तातेडले स्वागत मन्तव्य राखेका थिए ।
जेसीज सप्ताहको दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष शंकर शारदा र राजविराज जेसीजका अध्यक्ष नानीमैया कटुवालले कारागारका निमित्त प्रमुख संजयकुमार रामलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो । कारागारका निमित्त प्रमुख रामका अनुसार कारागारमा १ आश्रित बालक र १७ महिलासहित ३ सय ७० जना कैदी बन्दी रहेका छन् ।
सामुहिक रुपमा राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष मीना साहले आस्था पाठ गर्नुभयो । सम्पन्न सो सामग्री वितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुरलगायत जेसीजका पदाधिकारी, प्रहरी र कैदीबन्दीका प्रतिनिधीको उपस्थिती रहेको थियो ।