भूपदेव माली,
सप्तरी, २१ मङ्सिर ।
सप्तरीको राजविराजमा आइतबार बाल विवाह न्यूनीकरणका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा सम्पन्न सो कार्यक्रम राजविराज नगरपालिका–६ पूर्णी पोखरीमा भएको हो ।
कार्यक्रममा बोल्दै राजविराज नगर उपप्रमुख साधना झाले शिक्षादिक्षा नदिई शारिरीक र मानसिक रुपले विकसित नभएका बालबालिकाको विवाह गर्ने अभिभावक ठूलो अपराध गरिरहेको बताउनु भयो । कानूनबाट लुकेर वा भागेर विवाह गर्नु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु जस्तो हो भन्नु हुँदै उपप्रमुख झाले पढने र असल संस्कार सिकाउने वातावरण आवश्यक रहेको बताउनु भयो ।
जनप्रतिनिधी, शिक्षक, बालबालिका, किशोर, किशोरी, महिला, प्रहरी, पत्रकार, अधिकारकर्मीहरु सहितको उपस्थिती रहको सो कार्यक्रममा बाल विवाह र वेचविखन न्यूनीकरणमा सचेतनात्मक सहजिकरण गरिएको थियो ।
कार्यक्रममा अन्तरपुस्ता सम्वाद प्रक्रियाद्वारा बाल विवाह र वेचविखन न्यूनीकरण गर्न सकिने भूमिका लगायतका विषयमा बृहद विश्लेषण गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनेश्वर साहले सहजिकरण गरेका थिए ।
प्रहरीले वहन गर्ने दायित्वका बारेमा स्पष्ट पार्दै प्रहरी निरीक्षक साहले बाल विवाह गरेको पाइएमा कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता जनाउनु भयो । विभिन्न घटनाहरुको उदाहरण दिनुहुँदै साहले कानुनको कार्यान्वयनमा समाजको सहयोगको अपेक्षा समेत हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका मूल समारोह समितिका अध्यक्ष मनोहर पोखरेलले सहभागिद्वारा राखिएको विभिन्न जिज्ञाशालाई खण्डन गर्नु हुँदै हिंसा नगर्न, नसहन र हिंसाको प्रतिवाद गर्न आग्रह गर्नुभयो । हरेक क्षेत्रमा सम्वादको आवश्यक्ता र महत्व बढ्दै गएको बताउनु हुँदै पोखरेलले यसको व्यापकता र थप प्रभावकारिताका लागि सबैलाइृ प्रतिवद्ध रहन समेत आग्रह गर्नुभयो ।
समग्र जनउत्थान केन्द्रकी सुष्मा गुप्ताले सञ्चालन गरेको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, पत्रकारहरु ललीता साह, चन्दन यादव, हुर्क नेपालका पार्थो सरकार, रिया सञ्चेती, सुनिता साहलगायतले बालविवाह न्यूनिकरणका लागि नागरिक समाज र स्वयम् बालबालिका पनि जिम्मेवार र सशक्त हुनुपर्ने आवश्यक्तामा जोड दिनु भयो ।
समितिको आयोजनामा भोली सोमवार दिउँसो १२ बजे राजविराज स्थित बहिरा ब्लक स्कूलमा लैङ्गिक हिंसा न्यूनिकरणका लागि अभिमुखिकरण कार्यक्रम तथा दिउँसो ३ बजे सहिद दशन चोकमा हिंसा पीडित महिलालाई हौसला प्रदान कार्यक्रम राखिएको मूल संयोजक मनोहर पोखरेलले जानकारी दिनुभयो ।