अशोक झा….
राजविराज, ०७ भदौं । सप्तरीमा आइतवार १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा गरिएको १ सय ९० जनाको स्वाब परिक्षणबाट १२ जनामा संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
प्रमुख यादवका अनुसार राजविराज नगरपालिका वडा नं. ५ का ४८ वर्षिय पुरुष, तिरहुत गाउँपालिका वडा नं. ४ का २९ वर्षिय पुरुष, तिरहुत गाउँपालिका वडा नं. ३ का २५ वर्षिय पुरुष, शम्भुनाथ नगरपालिका वडा नं. १ का ३० वर्षिय, र वडा नं. ५ का ३९ वर्षिय पुरुषमा संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै खडक नगरपालिकाका २५, ४६ र ३३ वर्षिय पुरुष, कन्चनपुरका २ जना पुरुष तथा विष्णुपुर गाउँपालिका वडा नं. १ का २२ वर्षिया महिलामा संक्रमणको पुष्टि भएको प्रमुख यादवले बताए ।
यो संगै सप्तरीमा कोरोना संक्रमितको कुल संख्या ७ सय २६ पुगेको छ भने मृतकको संख्या ४ रहेको छ त्यस्तै ५ सय ११ जना कोरोनालाई जितेर घर फिर्ता गएका छन् ।
यसैगरी देशमा आइतवार ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरिएको थियो ।
मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको बताएका छन् ।
२४ घन्टामा २ सय ८१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ ।
संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार १ सय ५५ र क्वारेन्टाइनमा ११ हजार ४ सय १४ रहेको प्रवक्ता डा. गौतमले जनाए ।
२४ घन्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा आइतबार अपराह्रुनसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको छ । पीसीआर परीक्षण आइतबारसम्म ६ लाख ४ सय ४४ गरिइसकेको प्रवक्ता गौतमले बताए ।