भूपदेव माली,
राजविराज, ०१ भाद्र ।
तेश्रो मधेश आन्दोलनका प्रथम शहिद राजीव राउतलाई श्रद्धाञ्जली दिएको छ । हनुमाननगर कंकालिनी नपा अन्तर्गत भारदह बाजार स्थित राजीव चौकमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरु द्वारा सोमवार पाँचौ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ ।
सम्पन्न सो कार्यक्रममा शहिद राजीवको फोटो राखी फुलमाला तथा अबिर लगाई श्रद्धाञ्जली अर्पित गरिएको छ । कार्यक्रममा खासै भिडभाड नगरिएपनि जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य जगदेव यादव, हनुमाननगर कंकालिनी नपा १ का वडाअध्यक्ष भिमराज मंडल, बुथ कमिटि संयोजक गजेन्द्र माझी, विरेन्द्र माझी, वडा नंं ३का वडा अध्यक्ष विजय यादव, वडा सदस्य मो. यूनुस लगायत लगभग पचास जना कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
जनता समाजवादी पार्टी हनुमाननगर कंकालिनी नपा नगर कमिटिको आयोजनामा गरिएको सो कार्यक्रम सम्पन्न गर्दा निषेधाज्ञा एवं सामाजिक दुरीको ध्यानमा राखी बक्तब्य तथा नारा आदिलाई रोक लगाइएको थियो । ‘हरेक वर्ष यो अवसरमा श्रद्धाञ्जली कार्यक्रम भव्य रुपमा गरिएपनि यो वर्ष सामाजिक दुरीलाई दृष्टिगत गरी साधारण तवरमा यो कार्यक्रम गरिएको गजेन्द्र माझीले बताए ।