दिनेश कुमार यादव र भूपदेव माली,
प्रदेश २ को प्रवेश द्वार सप्तरी जिल्ला हुनमाननगर कंकालिनी नपामा अवस्थित हनुमाननगरको हनुमान मंदिर यस जिल्लाको प्रसिद्ध मन्दिरहरु मध्ये एक हो । भारदह स्थित देशको पूर्व–पश्चिम लोकमार्ग देखि ६ कि.मि. दक्षिण, राजविराज देखि १२ कि.मी पूर्व र भारतीय नाका कुनौली सुपौल देखि १३ कि.मी. पुर्व–उत्तर, देशका विशालतम कोशी नदी तटमा अवस्थित मंदिरमा विश्वमा कतै फेला नपरेको ें गहिरो कालो शालीग्राम पत्थरको बाल्यअवस्थाका मूर्ति रहेको छ । मूर्तिको आकार छोटो(लगभग १ फिट) भएपनि सो मूर्ति मानवलाई दुवै हातले आर्शिवाद दिईरहेको अवस्थामा छ । पूरातत्व विज्ञहरुको अनुसार एक हजार वर्ष पुरानो मूर्ति हुन सक्ने अडकल गरिएको सो हनुमान जी दैव्यशक्तिको पनि अति नै महत्व छ । कोलकाता, जयपुर र दिल्ली आदि स्थानका मारवाडी समाजका भक्तजन समय–समयमा पूजादर्शन गरी भेंट चढाउने गरेको मन्दिरका वर्तमान पूजारी गोविन्द मिश्रले बताउँछन् ।
सप्तरी जिल्लाको धार्मिक स्थलहरु भ्रमण गर्ने भक्तजनहरुले हनुमाननगरको यो कालो हनुमान जीको दर्शन गरिएन भने भ्रमण अधुरो नै हुनेछ । हुन त हरेक मंगलवार भक्तजनहरुको भिड हुने यो मन्दिरमा रामनवमी तथा हनुमान जयन्तीको अवसरमा हरेक वर्ष ठूलै धार्मिक अनुष्ठानको आयोजना गरिन्छन, जुन दिन एक मेला सरह भक्तजनहरुको भिड हुने गर्दछन् । विहान ०८ बजे देखि बेलुकी ०८ बजे सम्म खुल्ला रहने सो मन्दिरको परिसरमा यज्ञशाला, धर्मशाला, नारायणेश्वर महादेवको मंदिरको साथै रामजानकी मन्दिर निर्माणधिन अवस्थामा रहेको छ । जहाँ बेला–बेलामा विवाह ब्रतबन्ध धार्मिक यज्ञहरु भई नै रहेको पूजारी मिश्रले भन्नु हुन्छ ।
धार्मिक विशेषता
हरेक मंगलवार हनुमान चालिसा पाठ गर्ने मानिसलाई मनोवाञ्चित फल प्राप्ति हुन्छ भन्ने जनविश्वास व्याप्क भएको सो हनुमान मन्दिरको वि.सं. २००२ सालमा कोशी नदी कटान गर्दै छेउसम्म आईपुग्दा यो हनुमान जीको पराक्रमले यो मन्दिरलाई छुन सकेको थिएन, न त कुनै छति नै पु¥याउन सकेको थियो यद्यपि मन्दिरदेखि पूर्व पट्टीको आधा नगर –बस्तीलाई नदीले कटान गरिसकेको थियो । जस कारण त्यो बेला सप्तरीको सदरमुकाम हनुमानगरबाट राजविराज सार्नु परेको थियो ।
पौराणिक कथा अनुसार प्राचिनकालमा मिथिलाको पुर्वी सिमाना कोशी नदी सम्म थियो । कोशी नदी विभिन्न ऋषिमुनिहरुको स्नान गर्ने तिर्थको रुपमा विद्यमान थियो । कोशीलाई पौराणिक कालमा कौशिकी नदी रहेको कैयाें धार्मिक ग्रन्थहरुमा उल्लेख रहेका छन् । कोशिकी नदीमा स्नान गर्न आएका हनुमान जी यही आसन लगाई तपमा बसेको हुदाँ यथास्थानमै सदाको लागि रही रहे भन्ने हनुमाननगर कंकालिनी नपा द्वारा प्रकाशित एक पर्यटकीय बुलेटिनमा उल्लेख छ । रामायण कथामा हनुमानजी रावणराज लंकामा आगो लागाउने क्रममा आगोको तापले जिउँ कालो भएको थियो र सोही कालो शरिरलाई पूर्व शारीरिक अवस्थामा ल्याउन हनुमानजी मिथिलाको कोशिकी नदीमा स्नान गर्न आउनु भएको हुदाँ हनुमाननगरको भूमिमा तप गर्नाले उक्त विग्रह आज सम्म विद्यमान रहेको जनविश्वास छ । यही प्रकाट्य शक्तिको मान्यताको आधारमा भक्तजनहरुकले अटुट आस्था राखी पूजाअर्चना गर्न आउँदछन् पूजारी मिश्र बताउँछन ।
ऐतिहासिक तथ्य
हजार वर्षभन्दा प्राचिन उक्त हनुमानजीको कालो मूर्ति शालिग्राम पत्थरको हो अथवा कसौटी पत्थरको हो भन्न गाह्रै छ । यसरी नै मुर्ति स्थापना कसले कुनकालमा गरिएको थियो खासै प्रमाण भेटिएको छैन् । तर स्थानिय बंशीधर कावराको तामपात्रमा उल्लेख भए अनुसार वि.स. १८८५ चैत्र ५ गतेका दिन मन्दिर व्यवस्थापन तथा नियमित पूजा–पाठका लागि तत्कालिन पूजारीका रुपमा रहेका कौशिकी दत पंडित र लिलजा मोजामा ९ विगाहा जग्गा प्रदान गरी मोहर लगाएको थियो । भारदह लिलजा कोशी कटान गर्नाले उक्त जग्गा हालको कोशी गाउँपालिका अन्तर्गत कुशाहा क्षेत्रमा रहेको छ । सो जम्मा २३ विगाहा जग्गा मध्ये हाल ३ विगाहा विद्युत पावर स्टेण्ड क्षेत्र भित्र पर्नाले २० विगाहा मंदिरलाई मात्र रहेको र सोही जग्गाको आम्दानीबाट धार्मिक अनुष्ठान, भौतिक निर्माण आदि कार्यहरु भईरहेको पूजारी मिश्रको भनाई छ ।
विक्रम सम्वत १९६६ सालमा कर्णेल विक्रमध्वजको नाम अंकित ठूलो घण्टाले पनि मन्दिरको मूर्ति पुरानो भएको पुष्टि गर्दछ । त्यस बेला लिलजा निवासी चिरञ्जीवी झा, फेकन झा, भूवन झा र केही वर्ष सम्म विहारको दरभंगा निवासी राधाकान्त ठाकुर पूजारीको रुपमा रहेको स्थानीयहरुले बताउँछन् ।
सप्तरी जिल्लाको सदरमुकामको रुपमा रहेको साविकको सो हनुमाननगर वि.स. २००२ सालमा कोशी नदीको कटानका कारण राजविराज सारिएको थियो । सो बेला अन्य मन्दिरहरुका मूर्तिहरु सरकारले काठमांडौ तिर लागिएपनि स्थानीयको अनुरोधमा एकमात्र उक्त हनुमान मन्दिर यथास्थानमा रहन गयो । जसले हनुमान कै नामबाट यो स्थानलाई नामाङ्गकन भएको पुष्टि गर्दछ ।
मन्दिरको बर्तमान अवस्थामा संरक्षण सव्वद्र्धन
मन्दिरको निश्चित सिमाभन्दा पूजारी बाहेक अन्य कोईपनि भित्र छिर्न पाईदैन । भेट चढाउने भक्तजनहरुले पूजारी कै माध्यमबाट चढाउनु पर्ने हुन्छ । यो मन्दिर सप्तरीको सबभन्दा पुरानो गुठी अन्तर्गत पर्ने पूजारीले बताउँछन, गुठी संस्थानले हालै रु. पाँचलाख रकम धर्मशालामा थप निर्माण कार्य गर्नका लागि दिएको थियो । मन्दिर संरक्षणका लागि यतिबेला कुनै समिति रहेको छैन, नगर प्रमुख शैलेश कुमार साह यही स्थानको निवासी भएको हुनाले नपाबाट संरक्षण सम्बद्र्धन भईरहेको पूजारीले बताउँछन् ।
प्रदेश २ का सामाजिक विकास मंत्री नवलकिशोर साह हनुमाननगर कै भएको हुदाँ प्रदेश २ का सरकारको सो मन्दिर प्रति ध्यान आकर्षण भएको देखिन्छ । वि.स. २०७५÷०७६ को बजेटमा मन्दिरको प्राङ्गणमा धर्मशाला, शौचालय तथा भान्साघर समेतको निर्माण ब्यवस्था गरिएको छ । प्रदेश सरकारकै बजेटबाट निर्माणधिन रामजानकी मन्दिर आप्mनै कार्यकालमा पूर्णता दिने मंत्री साहले प्रतिबद्धता जनाएको पूजारी मिश्रले बताउँछन् । पैगोडा शैलीमा निर्माण हुन लागेको सो रामजानकी मन्दिर सुन्दर आकारमा बन्ने भएको हुदाँ परिसर अझ शोभनीय हुने संकेत दिन्छ ।