दिनेश कुमार यादव,
जनकपुरधाम, ०८ चैत ।
मुख्यमन्त्री सरोज कुमार यादवले ’खेलकूद पूर्वाधारमा मधेश प्रदेशलाई देशकै नमूना बनाउने’ घोषणा गर्नुभएको छ ।
विहिवार बिहान जनकपुरधाम वडा नम्बर–१४ स्थित रामजानकी अन्तर्राष्ट्रिय स्टेडियम(रंगशाला) निर्माणस्थलको निरीक्षण गर्नुहुँदै मुख्यमन्त्री यादवले ’भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गरिने एक अर्व रुपैयाँ स्टेडियम निर्माण कार्यमा खर्च गरिने घोषणा गरेका हुन्।
‘म भन्दा पहिलेको मधेश सरकारले धर्मशाला बनाउने प्रयास गरेको थियो, त्यो पनि संचालन हुन नसक्दा उक्त रकमको उपयोग अन्तर्राष्ट्रिय रंगशाला(स्टेडियम) निर्माण गरेर मधेश प्रदेशलाई सबै प्रकारको खेलको हव बनाउने योजना रहेको छ’ उहाँले भन्नुभयो ।
आउँदो तीन वर्षभित्र स्टेडियम निर्माण कार्य पूरा हुने गरी प्रदेश सरकारले काम अगाडि बढाउने बताउनुभयो । भारत सरकारले दिएको आर्थिक सहयोग अपुग भए प्रदेश सरकार ५० करोडदेखि सय करोडसम्म बजेट उपलब्ध गराउन तयार छ, उहाँले घोषणा गर्नुभयो ।
उहाँले भन्नुभयो–आगामी ११औं राष्ट्रिय खेलकूद मधेश प्रदेशमा आयोजना गर्नको लागि पहल थालेका छौं ।
जनकपुरधाम नगरपालिकाको समेत सहभागितामा राष्ट्रिय खेलकूद आयोजनाको लागि प्रदेशस्थित महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका सचिव रंजित यादवको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा आठै जिल्लाका प्रतिनिधिहरु रहेका छन् । कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा आगामी राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजनाको आप्mनो दावी पेश गर्ने मुख्यमन्त्री यादवले बताउनुभयो ।
मधेश प्रदेशमा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नको लागि खेलकूदलाई प्राथमिकतामा राखेर अघि बढ्ने मुख्यमन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।
खेलाडीले नै देश र प्रदेशको नाम विश्वसामु चिनाउने भएकोले उनीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उहाँले जानकारी दिनुभयो ।
सो अवसरमा प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, शेषनारायण यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायतको उपस्थिति थियो । स्टेडियम निर्माण स्थलमा मुख्यमन्त्री यादवसहितको टोलीलाई क्रिकेट प्रशिक्षक, खेलप्रेमी, खेलाडी लगायतले भव्य स्वागत गरेका थिए ।