जनकपुरधाम, असोज ११।
मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभएको छ ।
धनुषाधाम नगरपालिका–७ किसानपुरमा बिहीबार नवनिर्मित मदर्साको उद्घाटन गर्नुहुँदै उहाँले शिक्षासँगै स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासमा जोड दिएको बताउनुभयो । आफनै कार्यकालमा मुस्लिमहरुको लागि उर्दु विद्यालय संचालनमा ल्याउँछु, उहाँले भन्नुभयो–यो विद्यालयमा उर्दुसँगै अंग्रेजी, गणित, विज्ञान पनि पठनपाठन हुन्छ ।
किसानको लागि बिना धितो ऋण उपलब्ध गराउनको लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । बाली लगाउने बेलामा किसानलाई मलखाद, सिचाई, मजदूरको लागि आर्थिक अभाव हुने गरेको छ, उहाँले भन्नुभयो–यसको समाधान खोज्न बैंकसित छिट्टै सम्झौता गर्न लागिएको छ ।
बैंकले सहुलियत दरमा किसानलाई उपलब्ध गराएको ऋणको बाली भित्र्याउनेसम्मको ब्याज प्रदेश सरकारले तिर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँले सामाजिक सद्भाव कायम गरेर अघि बढ्न सबैमा अपील समेत गर्नुभयो ।
विकास गर्नको लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री यादवले घोषणा गर्नुभयो ।
वडा नं. ७ का वडाध्यक्ष हेमनारायण यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा धनुषा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य दिपक कार्कीले प्रतिनिधिसभा धनुषा–१ को विकासमा सहयोगको लागि मुख्यमन्त्री यादवसँग आग्रह समेत गर्नुभयो ।
आन्दोलनको क्रममा लागेको राजनीतिक मुद्दा सरकारले फिर्ता लिनुपर्ने माग उहाँले गर्नुभयो ।
सो अवसरमा जसपा मधेश प्रदेश समिति सदस्य एवम् बारा जिल्ला इन्चार्ज चन्देश्वर महतोले मधेश प्रदेश सरकारले जनचाहना अनुरुप योजनाहरु ल्याउन लागेको बताउनुभयो । कार्यक्रममा शहीद शिवशंकर यादवको आमालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा मदर्सा समितिका अध्यक्ष अजिम अंसारी, जसपा क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष बिनोद कुमार यादव, धनुषाधाम नगर उपाध्यक्ष चन्द्रनारायण यादव लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अम्बिका विश्वकर्माले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेस लगायतका पार्टीनेता कार्यकर्ताहरु जसपा प्रवेश गर्नुभएको थियो ।