भूपदेव माली,
सप्तरी ०४ कात्तिक ।
सप्तरीको प्रसिद्ध शक्तिपीठ भारदहको कंकालिनी भगवती मन्दिरमा यस वर्षको दशैं पर्वको अवसरमा बलिप्रदान प्रहरीले रोक्न थाल्दा मन्दिर विकास समितिको आयोजनामा स्थानीयहरुलाई डाकेर एक बैठकमा बलिप्रदानको विषयमा गहनतम छलफल गरियो, तर बलिप्रदान हुन दिने बारेमा निर्णय हुन सकेन ।
कोरोना महामारीको सक्रमण फैलिन नदिन भिडभाडको स्थिती मठ–मन्दिरमा नहोस भनि गृह मन्त्रालयले शक्तिपीठहरुमा बलिप्रदान लगायत आम भक्तजनहरुलाई प्रवेश निषेधका लागि निषेधीत क्षेत्र घोषणा गरेकोले नै सो अन्यौलको स्थित उत्पन्न भएको हो ।
दशैंको अवसरमा हजारौं खसी–बोका र पाँच सय भन्दा बढि राँगाा बलिप्रदान हुने यो मन्दिरमा यो वर्ष समाजिक दुरी कायम गर्न तथा सेनेटाईजरको व्यवस्था गरिएपनि सरकार द्वारा बलिप्रदान गर्न रोक लगाउँदा स्थानीयहरु चिन्तित छन् ।
‘दशैं अवसर पूजा एवं बलिप्रदान गर्दा समाजिक दुरीलाई कायम राख्न हामीले विभिन्न ठाउँहरुमा पाईपलाईन प्रक्रियाबाट भक्तजनहरुलाई बलि स्थल सम्म प्रवेश गर्न लाउने व्यवस्था सँगै मास्क नहुनेलाई मास्कको व्यवस्था र सेनेटाईजर गर्ने व्यवस्था गरेका छौं । हामीले मन्दिरमा कुनै प्रकारको भिड नहोस भनि व्यवस्था मिलाएको मन्दिर विकास समितिका सचिव आकाश कुमार राज भण्डारीले बताउँछन ।
मन्दिरमा हरेक वर्ष जस्तो सिंगारिएको छैन र नत साँस्कृतिक कार्यक्रमहरुको नै आयोजना गरिएको छ । भारतीय नाकाबाट आउने भारतीय दर्शनार्थीहरु न आउनाले मन्दिरको रौनकता हराएको छ ।
‘मलहरु खोलिने, हाट बाजार गर्न पाउने, सार्वजानिक सवारी साधनहरुमा यात्रा गर्न पाउने तर हिन्दुहरुको महान चाडमा शक्तिपीठहरुमा बलिप्रदान गर्न नपाउने सरकारको निर्णय अदुरदर्शी भएको भन्दै दशैं पर्वमा बलिप्रदान गर्नु हिन्दुहरुको आस्थाको विषय भएकोले बलिप्रदान नरोक्न सरकारसँग अपिल गर्दै रोक लगाएपनि अज्ञानतावश बलि चढाउन आईसकेका भक्तजनलाई बलिप्रदान गर्न नरोक्ने समितिका अध्यक्ष रामनारायण मण्डलले बताए ।
मन्दिरको वालहरुमा जत्रतत्र निषेधाज्ञाको पम्पलेटहरु टाँसिएका छन् र सगैं समाजिक दुरी, मास्क र सेनेटाईजरको प्रयोग अनिवार्य पम्पलेट समेत टाँसिएका छन्’ । समाजिक दुरी कायम राख्न शक्तिपीठहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको सरकारको पाईलालाई समर्थन गर्दै मन्दिरमा मेला लाग्न दिने छैन् । तर टाढाका भक्तजन अज्ञानतावश आएमा फर्काउने छैन, पूजा तथा बलि चढाउन व्यवस्थाप्रति लागेको वढा अध्यक्ष भिमराज मण्डलको भनाई छ ।