विक्रम सम्बत नयाँ वर्ष प्रवेशको संगै तराई – मधेशमा सिरुवा पर्व मनाईने चलन छ। सिरुवा अर्थात् जुडशित्तल पर्व यहाँका मानिसहरूले हर्षोल्लासका साथ मनाइन्छन्। यो दिन पूर्वी मधेशमा विशेषतः परिकारका तरुवा, भरुवा, भूजिया, सोहिजवन, खमहोर आदिका तरकारीहरू तयार गरि आ-आफ्ना छिमेकी तथा इष्टमित्रहरुलाई डिकेर खान दिने परम्परा रहेको छ। यो दिन प्रातकालदेखि नै आफूभन्दा कान्छोलाई टाउकोमा पानी छ्याप्दै आशिष दिने र नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने चलन छ। माया – स्नेहले छ्यापिएको पानीले शित्तलता प्रदान गरिनु अर्थात् जुडाउनु नै जुडशित्तल हो। हुनत केही दशक अघिसम्म यो दिन यो पर्वको उत्साह – उत्सर्गमा समुहगत एक-अर्कालाई हिलो-माटो तथा कालो मोसो दलेर रमाइलो र खुशी व्यक्त गर्ने चलन थियो, जो अब लोप हुदैगयेको छ। नयाँ वर्षको प्रवेश दिनसँगै मनाईने यो पर्वको विभिन्न स्थानमा मेला लाग्ने गर्छ र पूर्वी तराईका जिल्लामा यस्ता मेलाहरू १५दिनसम्म क्रमशः एक-अर्को स्थानमा सर्दै लाग्ने गर्छ। सिरहाको फूलवाईर, पकरियागढ, सप्तरीको राजविराज स्थित राजदेवी, मलेठ, सकरदही र सुनसरी एवं मोरङका विभिन्न स्थानमा क्रमबद्ध १५ दिन सम्म सो मेला चलिरहन्छ। मेलामा पनि आ-आफ्नो साथीभाईहरु लाई विभिन्न परिकारका मिठाई खान दिएर पर्वको उमङ्ग साटासाट गर्ने चलन छ। तराई मधेसमा मनाईने प्रमुख पर्वहरू मध्ये जुडशित्तल पनि अति नै महत्व राख्दछ। चैत्र प्रतिपदा पछि जब सूर्य मिन राशिबाट मेष राशिमा प्रवेश गरिसकेको संगै यो पर्व मनाइन्छ र यो पर्वलाई थारूले बैसाखी पाबैन भन्छन्। हरेक वर्ष सिरुवा पर्व प्रेम, सम्भाव, स्नेह र माया आदानप्रदानका साथ र उत्साह-उमङ्ग साथ मनाईने परम्परा रहि आएपनि यो वर्ष कोरोना संक्रमणको प्रकोपको पूनर्आगमनले फरक तथा साँघुरो ढङ्गले मनाउनुपर्ने हाम्रो विवशता भएको छ। स्वास्थ्य सुरक्षाको दृष्टिले सामाजिक दुरी र मास्कको प्रयोग गरिएपनि मेलालाई बहिष्कार गर्नुपर्ने नै वेश हुनेछ।