भूपदेव माली,
राजविराज १५ माघ ।
कोशी नदीको छेउको विभिन्न स्थानहरुमा विहिवार कोशी स्नान मेला सम्पन्न भएको छ ।
सप्तरीको मेग्दीन चुरिया, झनकट्टा, मलकौर, भलुवा, कोशी ब्यारेज र हनुमाननगर आदि स्थानहरुमा मेला सम्पन्न भएको छभने कतिपय ठाउँहरुमा २ देखि ३ दिन सम्म मेला रही रहने बताएको छ ।
नेपालमा सबैभन्दा विशाल कोशी स्नान मेला सप्तरी जिल्लाको पूर्वी दिशामा अवस्थित हनुमाननगर कंकालिनी नपा १ , भारदह स्थित कोशी ब्यारेज पूलमा लाग्ने गर्दछ । यो मेलाको मुख्य आकर्षण ब्यारेज पूलको अदभूत बनावटको दृष्य तथा मनोरम जलप्रवाह नै हो, जो आकर्षणले नेपाल तथा भारतका विभिन्न स्थानका पचास हजार भन्दा वढी मानिसहरुले मेला गर्न पुग्दछन् ।
कोशी स्नान मेलाको परम्परा ज्यादै पूरानो भएपनि कोशी ब्यारेज पूलको ३० अप्रिल १९५९ इस्वीमा भारतको प्रथम प्रधानमंत्री जवाहरलाल नेहरु एवं नेपालका राजा महेन्द्र शाह द्वारा शिलन्यास भई २८ अप्रिल १९६५ इस्वीमा भारतका तत्कालिन प्रधानमंत्री लाल बहादुर शास्त्री एवं नेपालका राजा महेन्द्र साहको संयूक्त तत्वधानमा उद्घाटन भएदेखि कोशी स्नान मेलाको मुख्य केन्द्र कोशी ब्यारेज बन्न गएको हो ।
यो वर्षको कोशी ब्यारेज मेलामा कोरोनाका कारण सिमा नाका बन्द रहेको हुनाले भारतीय मानिसहरुको उपस्थिती थोरै भएपनि स्नान गर्ने श्रद्धालुहरुको संख्यामा कमि भएको देखिएन ।
नदी स्नान गर्नेहरु देखि नदीमा बोट द्वारा घुमफिर गर्दै मेलाका विभिन्न प्रकारका आनन्द लिनेहरु हजारौंको संख्यामा रहेका थिए ।