भूपदेव माली, अशोक झा राजविराज, १४ माघ ।
कोभिड–१९ विरुद्धको खोप भरपर्दो र विश्वसनीय रहेकोले खोपको सम्बन्धमा अनावश्यक अफवाह नफैलाउन सामाजिक विकास मन्त्री नबल किशोर साह “रामबाबु”ले आग्रह गरेका छन् । सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बुधवार कोरोना विरुद्धको खोप शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उद्घाटन कार्यक्रममा मन्त्री साहले कोभिड–१९ विरुद्धको खोप जीवन रक्षक तथा मानव रक्षक भएकोले यो खोप सबैले लगाउनु पर्ने आवश्यक रहेको भन्दै खोपको सम्बन्धमा अनावश्यक टिका टिप्पणी नगर्न आग्रह गरे । वैज्ञानिकहरुको त्याग र तपश्याको सँगै अथक प्रयासबाट छिमेकी राष्ट्र भारत लगायत विश्वका अनेकौं देशले कोभिड–१९ विरुद्धको खोप आविष्कार गरेको र भारतमा करिब १५ लाखले खोप लगाएको जसमध्ये ३ जनामा मात्रै सामान्य प्रतिकुल असर देखा परेको उनले बताए । ती तीनजना पनि उपचार पश्चात घर फिर्ता गएकोले अनावश्यक नकारात्मक टिका टिप्पणी प्रति नलागि निर्धक भई कोभिड–१९ विरुद्धको खोप लगाउन सबैमा उनले आग्रह गरे । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाईकर्मी र एम्बुलेन्स चालकको सगै सुरक्षा निकायलाई खोप दिईने छ भने दोस्रो चरणको सर्वसाधारणका लागि छिट्टै नै खोपको व्यवस्थामा सरकार लागि परेको बताउँदै अगामी दिनमा छिट्टै नै सर्वसाधारण समेत यो खोप पाउन सक्ने मन्त्री साहले बताए । गजेन्द्र नारायण सिंह अस्पतालको प्राङ्गणमा आयोजित खोप कार्यक्रममा अस्पतालमा कार्यरत स्टाफ नर्स सुनिता कुमारी यादवले पहिलो खोप लगाएकी छिन् । बिहीवार बिहान ११ बजेर १० मिनेटमा यादवलाई पहिलो खोप दिइएको हो । खोप लगाएको ३० मिनेट पश्चात पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेकोले सबै जनाले खोप लगाउनु आवश्यक रहेको स्टाफ नर्स यादवले बताइन् । जिल्लामा १४ गतेबाट शुभारम्भ भएको खोप माघ १९ गतेसम्म संचालन हुने र यस अवधिमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने तयारी रहेको अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. रंजित झाले बताए । पहिलो खोप लगाएको मितिले ४ हप्ता पश्चात दोस्रो पटकको खोपको लागि समेत सम्पूर्ण तयारी भई रहेको जानकारी दिँदै दोस्रो पटकको लागि समेत खोप उलब्ध भई रहेको बताए । पहिलो पटकको खोपको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल र रुपनी स्थित प्रहरी अस्पतालमा कार्यक्रम गरिएको उनले बताए । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित खोप कार्यक्रममा खोप समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादव, सुरक्षा निकायका प्रमुखहरु लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।