भूपदेव माली,
राजविराज २५ पौष ।
ओली सरकारले प्रतिनिििध सभा विघटन गरिएको विरुद्ध नेपाली काँग्रेस सप्तरीले जिल्लाका आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिवार विरोध सभा तथा प्रदर्शन गरेको छ ।
प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र आलोकतान्त्रिक कदम भएको संज्ञा दिदै आन्दोलनको तहत सो विरोध प्रदर्शन सभा गरिएको हो ।
सप्तरी जिल्लाको आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विहानै देखि नेपाली काँग्रेससँग आवद्ध हरेक भातृसंगठनका नेता तथा कार्यकर्ताहरुले कार्यक्रम सफल तुल्याउन ब्यस्त रहेका थिए ।
गाउँगाउँबाट ट्याक्टर, बैलगाडा, मोटरसाइकल, अटोरिक्सा, टेम्पु लगायतका सवारीसाधान चढेर बिरोधसभामा सहभागि हुन आएकाहरुले प्रधानमन्त्रि ओलीबिरुद्ध चर्को नाराबाजी गर्दै कार्यक्रम स्थल पुग्ने गरेको दृश्य सबै निर्वाचन क्षेत्रको सभामा देखिएको थियो ।
प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले उक्त कदम नसच्याएसम्म आन्दोलन जारी रहने र आन्दोलनबाटै प्रतिनिधिसभा पुर्नस्थापना गराई छाड्ने उदघोषसमेत गरे । नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले प्राप्त उपलब्धि र संविधानको रक्षाका लागि प्रतिनिधिसभा विघटन बिरुद्ध रहेका सबै शक्ति एकजुट भई लाग्नु पर्ने बताए । प्रतिनिधिसभा विघटन असंबैधानिक कदम भएकाले असंबैधानिक कदमलाई आन्दोलनबाटै तहलगाउनु पर्ने उनको जोड थियो ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को महुली र वैरवा, २ को राजविराज र सकरपुरा, ३ को खुरहुरिया र पत्थरगाढा तथा ४ को सिसुवा र बोदेबरसाइन बजारमा गरि एकै दिन जिल्लाका ८ वटै क्षेत्रमा बिरोधसभा भब्य रुपमा सम्पन्न भएको नेपाली काँग्रेस सप्तरीका प्रवक्ता प्रभातकुमार ललनले जनाएका छन् ।