भूपदेव माली,
राजविराज १२ पौष ।
सप्तरीको राजविराजमा प्रधानमंत्री केपी शर्मा ओलीको असंबैधानिक निर्णय विरुद्ध जसपा नेपालले विरोध प्रदर्शन गरेका छन् ।
आफ्नै दलको अन्तरकलहका कारण प्रधानमंत्री ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरे लगतै राष्ट्रपतिले असंवैधानिक रुपमा सो सिफारिसलाई अनुमोदन गरी नयाँ निर्वाचनका लागि मिति घोषणा गरेको निर्णय प्रति जसपाले सो निर्णय फिर्ता लिन दवाव स्वरुप सो विरोध प्रदर्शन गरिएको हो ।
असंबैधानिक निर्णय फिर्ता गर नारा सहितका साथ हजारौंको संख्यामा निकालिएको जुलुसले बाजार परिक्रमा गरी नेता चौकमा कोण सभामा परिणत भएको सो सभाको अध्यक्षता जसपा सप्तरी जिल्ला समितिका अध्यक्ष केदार यादवले गरेका थिए ।
विद्यार्थी नेता शम्भु कुमार यादवले संचालन गरेको सो सभामा यूवा नेता सचेन्द्र यादव, विशाल यादव, किशोर कुमार केसी, महिला नेतृ उषा साह, दिलकुमारी चौधरी , रिना झा, भिम बहादुर तमाङ्ग, के.स. राजेश विद्रोही, के.स. कपिलदेव यादव, अमरकान्त झा, बौआलाल शर्मा, माननीय रेणु यादव, कृषि तथा सहकारी मंत्री शैलेन्द्र साह लगायतकाले आ–आफ्ना धारणा राखेका थिए ।
राष्ट्रिय सभा सस्दय तथा जसपाका बरिष्ट नेता मृगेन्द्र कुमार सिंह यादवले ‘अप्रत्यासित रुपमा प्रधानमंत्रीको सिफारिसमा राष्ट्रपति द्वारा प्रतिनिधि सभा विघटन गरिएकोमा यसबाट सृजित खतरा देश र जनता माथि पर्न जाने’ भन्नु हुदै देशको अर्थतन्त्रमा ब्रेक लागि नोक्सानीको साथै चुनावमा हुने खर्च जनताबाट नै विभिन्न करको रुपमा असुल्ने भएको हुदाँ राष्ट्रपतिले अबिलम्व निर्णय फिर्ता लिनु पर्छ’ धारणा राख्नु भयो ।