भूपदेव माली,
राजविराज, ०९ पौष ।
सप्तरीको राजविराज स्थित सप्तरी जिल्ला समन्वय समितिको सभाहलमा जसपाका केन्द्रिय सदस्यहरुको समन्वयमा सप्तरी जिल्ला कार्य समितिको समिक्षा एवं पूर्व निर्धारित विभिन्न आन्दोलनहरु सफल गर्ने बारे बैठक सम्पन्न भएको छ ।
सत्तासिन नेकपाको आन्तरिक कलह र सत्ता छिनाझप्टीका कारण तिन वर्षकै अन्तरालमा प्रधानमंत्री केपी शर्मा ओली द्वारा प्रतिनिधिसभा विघटन गर्ने गरिएको सिफारिस अनुरुप देश र जनताको हितलाई ठोकराई राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गरी २०७८ बैशाख १७ र २७ गते निर्वाचनको जनादेश जारी गरिएको विरुद्धमा जसपाले चरणवद्ध आन्दोलनको घोषणा गरिएको थियो । हिजोका आन्दोलनको समिक्षा गर्दै अगामी निर्धारित चरणवद्ध आन्दोलनहरु कसरी भव्य सफल बनाउने बारे सो बैठक सम्पन्न भएको हो ।
जसपाका जिल्ला कार्य समितिका अध्यक्ष केदार यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका के.स. मृगेन्द्र कुमार सिंह यादव, के.स. रेणु यादव, के.स. जय प्रकाश ठाकुर सहित मेयर शम्भु कुमार यादव, अध्यक्ष सतिस सिंह, अध्यक्ष मनोज बहडखेर यादव सहित जिल्लाका विभिन्न नगर तथा गाउँपालिका प्रमुखहरु लगायत जिल्ला कार्य समितिका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पूर्व निर्धारित भोली हुने राष्ट्रपति विद्या देवी भण्डारी तथा प्रधानमंत्री केपी शर्मा ओलीको पुतला दहन कार्यक्रम भव्यरुपमा सफल गर्ने विषयमा छलफल भएको बारे पार्टीका यूवा नेता शम्भु कुमार यादवले जानकारी गराउनु भयो ।