भूपदेव माली, राजविराज ०८ पुस ।
प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले कडा सुरक्षाका बीच सप्तरीका सदरमुकाम राजविराजमा बुधबार वृहत विरोध प्रदर्शन गरेको छ ।
पार्टीको सोमवार सम्पन्न आकस्मिक बैठकले गरेको निर्णय अनुसार देशैभरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा बिघटन विरुद्ध सो प्रदर्शन गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सो ¥यालीमा सहभागीहरुले नाराबाजी गरेका छन् ।
यसैक्रममा संसद पुनस्र्थापनाको माँग गर्दै राजविराजको शिव मन्दिरबाट निकालिएका सो ¥याली राजविराजको गजेन्द्र चौक, शहिद चौकसहित नगर परिक्रमा गरेका छन् । सोही क्रममा जुलुस नाराको परिक्रमा पश्चात जसपाका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित विरोध सभा सम्पन्न भएका छन् । सो विरोध सभामा पार्टीका केन्द्रीय तथा प्रदेश नेताहरुले सम्बोधन गरेका छन् ।
जुलुस प्रदर्शनका क्रममा सशस्त्र तथा नेपाल प्रहरीको टोलीले कडा सुरक्षा दिएका छन् । यद्यपी सुरक्षाकर्मीहरुले भने कार्यक्रममा अवरोध नपुर्याएको पार्टीका विद्यार्थी नेता शम्भु कुमार यादवले जानकारी दिएका छन् ।
सोही कार्यक्रम विच जनता समाजवादी पार्टीले मंगलवार पाँच दिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । पुस ८ गते बुधवार देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुको बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको सो कार्यक्रममा घोषणा गर्दै घोषित कार्यक्रममा सबैलाई सहभागी हुन अव्हान गरेका छन् ।