भूपदेव माली।आ.एन मेहता ,
सप्तरीको दक्षिणी सिमा क्षेत्रमा अवस्थित छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सूर्यनारायण मण्डल(कुरुर) स्वच्छछवियूक्त, ईमान्दार एवं कर्तव्यनिष्ट ब्यक्तित्वको रुपमा परिचित अध्यक्ष भएर पनि उक्त गाउँपालिकाको नयाँ आर्थिक वर्षमा प्रवेश भएको महिनौ वितिसक्दापनि हालसम्म भौतिक निर्माण एवं विकास सम्बन्धी योजनाहरु छनौट गरी गाउँसभा सम्पन्न नहुनु सँगै त्यहाँका जनताले राज्य द्वारा प्रदत्त समाजिक सुरक्षा भत्ता तथा कर्मचारी तलब वितरण नहुनुको कारणका वास्तविकता बुझ्न मधेश न्यूज टिमले सखडा स्थित गाउँपालिकाको कार्यालयमा पुगेर केही प्रमाणहरु सहितको दस्तावेज संकलन गरी न्यूज टिमका भूपदेव माली र आर एन मेहताले अध्यक्षसँग गरिएको कुराकानी प्रस्तुत छ ।
· अध्यक्ष ज्यू, स्वागत छ मधेश न्यूजमा ।
– धन्यवाद, मधेश न्यूजका सम्पूर्ण सदस्यहरुलाई स्वागत एवं धन्यवाद छ ।
· तपाईको गाउँपालिकामा नयाँ आर्थिक वर्ष प्रवेश भएको महिनौ वितिसक्दा पनि गाउँ सभा सम्पन्न हुन सकेको छैन, कारण के ?
– पहिलो कारण त, कार्यपालिका पदाधिकारीहरु भ्रष्ट प्रवृतिको भएकोले बढी रकम खाने लोभग्रस्त मानसिकताको बसिभूत भई समयमा गाउँसभा सम्पन्न गर्ने पक्षमा छैनन । कारण समय मै योजना प्रस्तुतीकरण गर्दा वर्षको प्रारम्भ कालदेखि उक्त योजनाहरु कार्यान्वयन तर्फ लागियो भने निर्माण कार्यहरुलाई गुणस्तरीय गर्नुपर्ने बाध्यता हुन्छ, त्यही निर्माण कार्यहरु आर्थिक वर्षको अन्तिम समय त्यही निर्माण कार्यहरु आर्थिक वर्षको अन्तिम समय अर्थात बर्षायामको समयमा गरियो भने सो कार्य अधुरो र गुणस्तरहिन हुदाँ उपभोक्ता समितिहरुलाई निर्धारित रकमको लगभग ६० प्रतिशत सम्म रकम बचाउन सक्छ र सो बचेको रकम मध्ये वडा अध्यक्ष, प्राविधिक, अधिकृत समेतका भागवण्डा हुने हुदाँ समयमा गाउसभा हुन नदिन पक्षमा उभिएका हुन्छन् । दोश्रो कारण पूरानो आर्थिक वर्ष समाप्तीकै बेला मेरो अनुपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत रवाना भई गएकोले पूरानो हिसाब किताव समेत दुरुस्त न हुदाँ र हालसम्म अधिकृत बिहिन अवस्था रहेकोले गाउँसभा सम्पन्न हुन नसकेको हो ।
· अधिकृत विहिन रहेकोमा सम्बन्धित मन्त्रालयमा माँग गर्नु भएको हो त?
– गरेको छु, पटक–पटक गरेको छु । सम्बन्धीत मन्त्रालयमा मैले औपचारिक रुपमा प्रमुख प्रशासकीय तथा अन्य २ जना अधिकृतको माँग पटक–पटक गर्दै आएपनि मन्त्रालयले वास्ता गरेको छैन । मसँग लिखित पत्रहरु नै प्रमाणको रुपमा छ । अधिकृत माँग गर्ने सम्बन्धमा मेरो कतै कुनै दोष छैन । यदि दोष छ भने सम्बन्धित मन्त्रालयको छ । सम्बन्धित मन्त्रालयले वास्ता नै नगरी हाम्रो गाउँपालिकाको कामकाज ठप्प पारी मलाई जनता विच कलङ्गकित पारिने कार्य गरिरहेको छ ।
· तपाईको गाउँपालिका अन्तर्गत उपभोक्ता समिति द्वारा गरिएका निर्माण कार्यहरु संतोषजनक छ त?
– छैन । विभिन्न योजनाहरुका लागि निर्धारित बजेट रकमको अनुपातमा ४० प्रतिशत रकमको कार्यपनि भएको देखिदैन । उपभोक्ता समिति लगायत अनुगमन समिति प्रमुख, सम्बन्धित अधिकृत, प्राविधिक, सम्बन्धित वडा अध्यक्ष समेत मिलेर रकम हजम गर्ने गरेका छन् । यिनी सबै मिलेर नै मेरो स्विकृति विना नै विल पर्छौट गरी रकमका चेक भूक्तान गर्ने गरेका छन्, यो कार्यमा प्रमुख प्रशासकीय अधिकृत समेत दोषी छन् ।
· यस्ता गुणस्तरहिन निर्माण कार्यहरु रोक्न के कुन रुपले प्रयास गर्नु भयो त?
– निश्चित रुपमा प्रयास गरेको छु । अवैध वा फर्जी विलहरु पेश गर्ने कतिपय उपभोक्ता समितिका १५ लाख रकम सम्म कटौती गरेको छु भने कतिपय उपभोक्ता समितिलाई गुणस्तरता ल्याउन बाध्य पारेको छु । यद्यपि कतिपय विल पर्छौट गर्ने क्रममा पालिकाका कर्मचारीतन्त्र, वडा अध्यक्ष, उपभोक्ता समिति लगायत प्रमुख प्रशासकीय अधिकृत मसँग बगावत गर्दै बलजफ्ती विलपास गर्न सफल पनि भएको छ । एक्लो पर्न गएको कारणले ।
· निर्माण कार्यहरुमा सुधारका लागि के पाईला चाल्नु भएको हो?
– निश्चित रुपमा पाईला चालेको छु । यस बारेमा बेला–बेलामा संचारको माध्यमले यी भ्रष्ट कर्मचारी तथा जनप्रतिनिधिहरुको पोल खोल्ने गरेको छु । मेरो इमान्दारितामा कुनै संदेह छैन, तर भ्रष्ट जनप्रतिनिधिको भ्रष्ट चरित्र जनता सामु छलङ्ग हुदै गरेको छ । जनताले नै मुल्याङ्कन गर्नेछ ।
· पालिका कार्यालय भित्र प्रत्येक ३/३ महिनामा कामकाज सहितको प्रतिवेदन प्रस्तुतीकरण बैठक हुने गरेको छ कि छैन्?
– नियमित बैठक हुने गरेको छैन र नत प्रतिवेदन नै प्रस्तुत गर्ने गरेको छ । यदाकदा बैठक हुने गरेको छ, जसले गर्दा सबै कामकाजका विवरण बुझ्न गाह्रो हुन्छ । मैले नियमित बैठक गर्न भने पनि विभिन्न बहाना गर्ने गरी आलटाल गर्ने गरिन्छ । यही कारणहरुले गर्दा कार्यालय भित्र केही मुख्य–मुख्य कुराहरु मबाट लुकेको हुन्छ । मैले यस विषयमा वढी चाप दिन थालैपछि तिनजना अधिकृतहरुले रबानापत्र न लिईकनै गईसकेका छन् ।
· गएका कर्मचारीहरुको फिर्ता बोलाउन पहल गर्नु भयो त?
– मैले अघि पनि भने मैले सम्बन्धीत मन्त्रालयमा पटकपटक माँग गरेको छु तर मन्त्रालयले हालसम्म पनि अधिकृत पठाएको छैन ।
· तपाईको गाउँपालिका लथालिङ्ग स्थिती यसरी नै रहयो भने यहाँका जनताले विकास एवं राज्य द्वारा प्रदत सुविधाहरुबाट बंचित रहने हुदाँ यो स्थिती अन्त्य गर्न के नीति अपनाउनु भएको हो?
– यसका लागि निरन्तर संघर्ष गरीरहेको छु । भ्रष्ट तथा बेईमान जनप्रतिनिधिहरुलाई पराजित पार्दै अल्पमत पार्न प्रयत्नरत छु । निकट भविष्यमा पालिकालाई स्वच्छ रुपमा विधिवत कार्य सम्पादन प्रकृयाको थाल्नी गर्ने उद्देश्यले नियमित सार्वजानिक सुनवाई कार्यक्रमको संचालन गर्नेछु । जो कार्यक्रममा जनताले प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गरी भ्रष्ट प्रवृतिका जनप्रतिनिधि एवं कर्मचारीहरुलाई नाँगो हुने निश्चित छ । अव आउने हरेक अधिकृत तथा कर्मचारीहरुलाई विश्वासमा लिएर कार्यहरु गर्दै जनताले अपेक्षा गरेका विकास तथा सुशासन ब्यवस्था कायम गर्ने विश्वास दिलाउन चाहन्छु ।