भूपदेव माली,
राजविराज ०२ पौष ।
सप्तरीको हनुमाननगर कंकालिनी नपा शिक्षा टोलीले आफ्नो क्षेत्रमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरुलाई विहिवार अनुगमन गरेका छन् ।
नगर प्रमुख शैलेश कुमार साहको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र यादव, शिक्षा शाखा अधिकृत हरी नारायण साह, शिक्षा समितिका दिनेश यादव र संतोष गोईत सहितको सो अनुगमन टोलीले आफ्नो नगर अन्तर्गत रहेका प्रत्येक विद्यालयहरुमा नगरपालिका द्वारा निर्देशित स्वास्थ्य सम्बन्धी मापदण्ड र विद्यालयले नगरलाई प्रस्तुत गरिएको विद्यालय संचालन गर्ने बारे कार्यढाँचा अनुसार पठनपाठन भईरहेको छ –छैन बारेमा सो अनुगमन गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीका कारण विगत लामो समयसम्म विद्यालयहरु बन्द रहेको हुदाँ ७ महिना पश्चात मंसिर २१ गते देखि नगर द्वारा निर्देशित मापदण्ड तथा विद्यालयहरुले विद्यालय संचालन गर्ने कार्यढाँचालाई पालना गर्ने सर्तमा संचालन गर्ने अनुमति प्राप्त गरेको थियो । सोही मापदण्डको पालना के कुन रुपमा गरिएको बारे आज पहिलो दिन चारवटा विद्यालयहरु अनुगमन गरिएका छन् ।
नगरका वडा नं. ४ मधवापुर मा.वि., वडा ३ पोर्ताहाका कंकालिनी मा.वि. एवं शिशु कल्याण इ.बो स्कूल र वडा १ भारदहको इष्टर्न ज्योति इ.बो. लाई सो टोलीले अनुगमन तथा निरिक्षण गर्ने क्रममा विद्यालयहरुमा समाजिक दुरीको अभाव, मास्कको प्रयोग न्यून, शिक्षकशिक्षिकाहरु पोशाकमा नरहेको र कतिपय शिक्षिका अनुपस्थित रहेको अवस्था भेटदा सो टोलीले उपरोक्त कमीकमजोरीलाई तरन्त सुधार गर्ने अन्यथा विद्यालयहरुमा पठनपाठन बन्द गर्ने प्रथम पटक चेतावनी दिएका छन् ।
निरिक्षणको क्रममा कतिपय विद्यालयमा स्वास्थ्यलाई ख्याल गर्दै कक्षा ४ देखि माथि कक्षा सम्म संचालन गर्ने निर्देश पाएको हुदाँ सो भन्दा मुनिको कक्षा समेत संचालन गरिएको पाएकोले भौतिक पूर्वाधार दुरुस्त भएको विद्यालयहरु बाहेकमा मुनिको कक्षा संचालन गरेको पाएमा सो विद्यालयलाई कार्वाही गरिने नगर प्रमुख साहले चेतावनी दिदै हरेक विद्यालयमा भौतिक पूर्वाधार दुरुस्त एवं मापदण्डको पालना अनिवार्य रुपमा हुनु पर्ने सम्बन्धीत विद्यालयका प्रमुखहरुलाई प्रथम पटकको चेतावनी दिनु भएको थियो ।
अनुगमन गर्ने क्रममा सम्बन्धीत वडाका वडा अध्यक्षहरु समेतको उपस्थ्तिी रहेको थियो । यो अनुगमन अभियान निरन्तर चलिरहने शिक्षा अधिकृत साहले बताउनु भयो ।