आज श्रीकृष्ण जन्माष्टमी हो: सम्पादकीय ।
आज श्रीकृष्ण जन्माष्टमी हो अर्थात भगवान श्रीकृष्णको जन्मदिन। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज श्रद्धाका साथ भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । यद्यपि मधेशको मैथिल क्षेत्रमा भगवान् श्रीकृष्णको लिला विग्रह सहित माटोको मुर्ति बनाएर हर्षोल्लासका साथ मनाउने गर्दछन्।हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ ।
श्रीकृष्णका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू-लोकमैं चर्चित छन् ।
गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ । यसरी नै
भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन। पुर्वी तराईका विराटनगर र राजविराजको कृष्ण मन्दिर धेरै नै प्रसिद्ध छन्, जहाँ कृष्णाष्टमीको भोलिपल्ट विशाल रथयात्रा निकालिन्छ।हुन त मिथिलाको हरेक गाउँ-टोलहरुमा यस दिन मेला लाग्ने गर्छ।धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।
राधा र कृष्णको संवाद जस्ताको तस्तै
एक दिन राधाजीले कृष्णजी लाई सोध्नुभयो: रिस के हो ?
कृष्णजी ले संसारलाई रिस – घृणालाई त्यागेर आफूमा प्रेम गर्न सन्देश दिएको छ। उहाँले भन्नुभएको छ- कसैको गल्तिको सजाय आफुलाई दुख दिनु नै रिस हो। त्यसैले मानव मात्र नभई ईश्वर तथा संसारका सबै जीवहरुलाई प्रेम गर्नुपर्छ। कृष्णको प्रेम – आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण सम्पूर्ण जगतको कल्याण हुने विश्वास छ।