आज होली (फागु पूर्णिमा) अर्थात् विशिष्ट रङ्गिन पर्व हो। फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । आज यो पर्वमा खुसी,आनन्द अनि उत्साहको यो वसन्त क्रृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईँलाई छोओस् । किनभने होली पर्व वर्षको एक मात्र खुसी एवं उमंगको पर्व भएको हुँदा होलीको रौनक छुनै पर्छ पनि ।
होलिका बारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरू अनि गीतहरू रचना गरिएका छन् , जसलाई फगुवा एवं जोगिडा भनिन्छ।हुन त केहि दशक पूर्वसम्म होली मनाउंदा मर्यादा, शिष्टाचार एवं अध्यात्मिकता लाई महत्व दिइन्थ्यो र परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको अवशरमा एक अर्कासंगको रिस, द्वेष,कलहलाई त्यागेर रंग खेल्ने गरिन्थ्यो।तर तर यतिबेला होली खेलिने प्रक्रिया विकृत भएको छ। होलीको दिन माछामासु खाने भाङ धतुरो खाने मदिरा खाने जस्ता विकृतिहरू फैलिएको देखिन्छ। यद्यपि यी सब कारणले गर्दा परापूर्वदेखि चलि आएको होली पर्वको उमङ्गहरू सेलाउँदै गएको छ। किनभने कृष्णले राधासँग खेलेको रङ वा मिथिलाको होली परिक्रमामा नशा एवं माछा मासुलाई वर्जित गरिएको हुन्छ। र यसलाई अनुसरण गरी होली पर्व मनाउनु पर्दछ। मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले आज विश्राम गरिने र तराईको होली चाहिँ भोलि हुने परम्परा बसेको हो । यस कारण पहाडको होली पूर्णिमा कै दिन र तराइको होली भोलिपल्ट गरिन्छ ।
होली पर्व भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ । भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ ।
नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रङ्ग भगवान् श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज व्यापक गरिन्छ । शुक्ल पक्षको ठुलो चन्द्रको छत्रछायामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ ।
वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरूबिचको सम्बन्ध अनि रङ्गले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के वृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रूपमा हेरेरै त होला नेपाली जन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।अत: होली पर्व हाम्रो संस्कार – संस्कृति हो, यसलाई विकृत नपारौं, जिवित राखौं। होली पर्वको हार्दिक शुभकामना जोगिडा सरररर………।