भूपदेव माली,
सप्तरी, २४ मङ्सिर ।
जेसीज सप्ताहको अन्तिम दिन राजविराज जेसीजले बुधवार जिल्लाको दुर ग्रामिण भेगमा अन्तरक्रिया गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–३ दौलतपुरस्थित भुसी महुलियामा जेसीजले शिक्षक, बालबालिका र दलित, आदिवासी किशोरीहरुसँग अन्तरक्रिया गर्दै उपरोक्त स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एव्म राष्ट्रिय प्राथमिक बिद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको सो अन्तरक्रिया कार्यक्रममा बालबालिकाले पालना गर्नुपर्ने भूमिका, महिनावारी र सरसफाईको विषयमा जनचेतनाका लागि सो अन्तरक्रिया गरिएको छ ।
कार्यक्रम संयोजक रञ्जना चौधरी र राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेलले अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्नु भएका थिए । कार्यक्रममा जेसीजका कानुनी सल्लाहकार राजेश मण्डल, कोषाध्यक्ष सिद्धार्थ तातेड, राजविराज नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर, बिद्यार्थीहरु चाँदनी सदा, यतिका चौधरी, दिलजनी सदा, राधिका राम, लक्ष्मी पासवानले सरसफाई, महिनावारी सम्वन्धी आ–आफ्नो धारण राखेका थिए ।
अन्तरक्रियामा सहभागीहरुले धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा लैङ्गिक विभेद र हिंसाजन्य कार्य नगर्न, नसहन र प्रतिवाद गर्न आवश्यक रहेको भन्दै प्रतिबद्धता व्यक्त गरे ।
आयोजित अन्तरक्रिया पश्चात कक्षा १ देखि ५ सम्मका उत्कृष्ण बिद्यार्थीहरुलाई उपहार र सहभागीहरुलाई सेनेटरी प्याड, मास्क लगायतका सामाग्री वितरण गरिएको थियो ।