सम्पादकीय: असक्षम नेतृत्व र हठजोर प्रवृत्तिले कार्यहरु असफल
कुनैपनि संघसँस्था वा समितिहरुलाई नेतृत्व गर्न हठवाजी गर्ने प्रवृत्ति भएकाहरूको उक्त संघसंस्था वा समितिको नेतृत्व दिएको अवस्थामा सो संस्थाको विकास वा समितिको उद्देश्य पूर्ति हुन असम्भव नै हुन्छ ।असक्षम नेतृत्वका कारण कार्यहरु सम्पादन गर्ने प्रक्रियाहरुमा त्रुटि हुनु स्वभाविक नै हो जसले गर्दा नेतृत्वकर्ताको स्वार्थपूर्ति त हुनसक्छ, तर उद्देश्य दृष्टिबिहिन हुनजान्छ। यस्तै भएको छ भारदहको कंकालिनी भगवती मन्दिरमा । मन्दिरको विकास तथा व्यवस्थापनको उदेश्य लिएर रहेको श्री कंकाली भगवती मन्दिर विकास समितिका नेतृत्वकर्ताहरुले आर्थिकरुपमा संस्थालाई बलियो बनाउने सन्दर्भमा सकृयता देखाएपनि कार्यसम्पादन गर्न तथा मन्दिर जस्तो पवित्र स्थललाई सरसफाई प्रति वास्ता गरिएको छैन।
पुर्बी नेपालको प्रसिद्ध शक्तिपीठ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदहमा अवस्थित यस मन्दिरमा लाखौं भक्तजनहरु पूजा- दर्शन, बली -भोग दिनका लागि आउने गर्छन् । खासगरी महानवमीका दिन हुने रांगा बलीप्रदानका दिन लाखौ मानिसहरु आउने गर्छन् ।यो दिन मन्दिरको वरिपरि चारै दिशामा फोहर-मैला हुनु स्वभाविकै हो । दशैं बितिसक्दा पनि हालसम्म समितिले सरसफाइ गर्न नभ्याउने असक्षम नेतृत्वकै प्रतिक नै हो।
मन्दिर प्राङ्गणमा टीकाको दिन केही स्थानीय युवा समाजसेवीहरु द्वारा सरसफाई गरिएपनि भोलिपल्ट पुनः फोहर फैलिन गएको थियो। त्यसपछि एक कम्पनी तथा कम्पनी परिवारले सरसफाई गरेका थिए। अर्को दिन नगरपालिकाका केही कर्मचारीहरुले र स्थानीय बुद्धिजीवीहरुले सरसफाई गरेका थिए ,अनि अर्को दिन मन्दिर कर्मचारी तथा स्वयंसेवकहरु द्वारा सफा गरीएकै ठाउँमा देखावटी रुपमा भएपनि सरसफाइ गरेका थिए ।तर मन्दिरको बाहिरी भागको सडकको पेटीहरुमा हालसम्म बाक्लो रुपमा फोहर- मैला यथावत् नै छन् ।समितिले वास्ता गरेको देखिँदैन।
यो मन्दिर करोडौं हिन्दूहरूको आस्थाको केन्द्र हो। यस पवित्र स्थानलाई सरसफाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।अत: यस मन्दिरको चारै दिशामा रहेका फोहर व्यवस्थापन गर्नेतर्फ ध्यान जानु आवश्यक छ । समितिले असक्षमताको परिचय दिनु भन्दा पनि उत्कृष्ट कार्यहरु गर्नेतर्फ ध्यान दिन आवश्यक छ।