ईमधेस न्यूज संवाददाता
राजविराज, ११ असोज ।
सप्तरी सदरमुकाम राजविराज सहित देशभरी जिल्लाका विभिन्न भागमा बसोबास गरि रहेका मुस्लिम धर्मालम्बीहरूले बिहीवर धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८औं जन्मजयन्ती धुमधामसँग मनाएका छन्।
मुस्लिम धर्मालम्बीहरूले धर्म गुरु हजरत मुहम्मदको जन्मदिनको अवसरमा बिहीबार देशका विभिन्न स्थानहरु सहित सप्तरीको सदरमुकाम राजविराजमा र्याली निकाली नगरको विभिन्न भागको परिक्रमा गरेका हुन् ।
मुस्लिम धर्मावलम्बीले पैगम्वर हजरत मुहम्मदलाई इस्लाम धर्मको मुख्य प्रचारक धर्म गुरुको रूपमा लिने गरेका छन्। इस्लाम धर्ममा अल्लाह तथा खुदाको सबैभन्दा नजिकको दूतको रूपमा पैगम्वर हजरत मुहम्मदलाई लिने गरिन्छ।
पैगम्वर हजरत मुहम्मदको जन्मदिनको अवसरमा सप्तरीका विभिन्न मस्जिदहरुमा मुस्लिम विधि परम्पराअनुसार पूजापाठ तथा ध्यान गरि विभिन्न बाजा बजाउदै इस्लामिक झण्डा एवं मस्जिद आकारका बस्तुहरु सिंगारिएर महिला बालबालिका तथा पुरुषहरु सहभागी भइ परिक्रमा गरिएको बताइएको छ।
यसै अवसरमा राजविराजमा निकालिएको सदभाव ¥यालीमा राजविराज नगरपालिकाका निलम्बित नगर प्रमुख भिमराज यादव, कार्यवाहक नगर प्रमुख इसरत परवीन, राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्ग, वडा नं. ८ का वडाअध्यक्ष जय नारायण मण्डल सहितका दर्जनौं समाजसेवी तथा बुद्धिजीवीहरुको सहभागीता रहेको थियो ।