असोज ३ गते सप्तरी।
सप्तरीको कंकालिनी भगवती मन्दिरमा हुने दशैं पूजा सम्पन्न गर्न तथा दशैमा रङ्ग बलिदिने आउने श्रद्धालु भक्तजनका लागि बासको व्यवस्था, शौचालयको निर्माण, सडक फराकिलो एवं परिसर फराकिलो गरी पसलहरु ब्यवस्थित गर्नुपर्ने हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले बताउनुभयो।
बुधबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा अवस्थित कंकालिनी भगवती मन्दिर विकास समिति द्वारा आयोजित समितिका नवनियुक्त सल्लाहकार समितीलाई स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मेयर माझीले सो कुरा बताउनु भयो।
उहाँले श्रद्धालुहरुलाई लामखुट्टे बाट एवं किरामकुराहरु बाट जोगिन मन्दिर क्षेत्रको चारै दिशामा किटनाशक औषधि छर्नु पर्ने बताउँदै मन्दिरमा पूजाअर्चना तथा बलिप्रदानको सुलभ प्रक्रिया प्रदान गर्न आवश्यक व्यवस्थापनको पूर्वतयारी गर्नुपर्ने बताउनुभयो।
मन्दिर विकास समितिका अध्यक्ष श्यामसुन्दर मण्डलको अध्यक्षता एवं नगरप्रमुख वीरेन्द्र माझीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवनियुक्त पाँचजना सल्लाकारहरु मध्ये पवन कुमार मण्डल (पूर्व गाविस अध्यक्ष), अरविन्द कुमार झा (विजय झा), सुरेश राउत र विनोद माझीलाई प्रमुख अतिथि द्वारा दोसल्ला ओढाएर सम्मान गरी मन्दिरको फोटो भएको मायाको चिनो प्रदान गरिएको थियो।
समितिका सदस्य विनोदकुमार रजक ले कार्यक्रम संचालन गरिएको कार्यक्रममा स्वागत मन्तव्य समितिका उपाध्यक्ष लक्ष्मण मण्डलले राखेका थिए भने नव नियुक्त सल्लाहकार पवन कुमार मण्डल,वडा नं १ का वडाध्यक्ष सुरेन्द्र मण्डलले शुभकामना मन्तव्य राखेका थिए।