संसारका पहिलो ईन्जिनियर बाबा विश्वकर्माको पूजा आज।
आज असोज महिनाको पहिलो दिन, असोज १ गते अर्थात कन्या संक्रान्ति हो। आजकै दिन संसारका पहिलो इन्जिनियर त्रृषि विश्वकर्माको जन्म भएको मान्यता भएकोले यसैदिन बाबा विश्वकर्माको पूजा गर्ने परम्परा रहिआएको छ। त्यसैले आज संसारका हरेक हिन्दुहरुले बाबा विश्वकर्मा(डे) जयन्ती बडो धुमधामका साथ् मनाइरहेका छन्।
बाबा विश्वकर्मा हस्तकला, वास्तुकला, शिल्पकला, हातहतियार, अस्त्र-शस्त्र (लडाकु यन्त्र) को रचयिता हुन्। प्राचिनकालमा जति राजधानीहरू थियो प्राय: राजधानीका विशाल भवनहरूको निर्माणकर्ताको रुपमा बाबा विश्वकर्मा भएको मान्यता रहेको छ। यहाँसम्म कि सत्ययुगमा” स्वर्गलोक ” ,त्रेतायुगमा” लंका”,द्वापरयुगमा “द्वारिका” र कलयुगमा “हस्तिनापुर” आदिको रचना बाबा विश्वकर्माले नै गरेका थिए। त्यतिबेला देवीदेवताका लडाकु यन्त्रहरु,( युद्ध का अस्त सस्त्रहरु) लगायत महाभारत कालमा विभिन्न प्रकारका रथ तथा सस्त्रहरु बाबा विश्वकर्माले नै बनाएका थिए ।सम्पूर्ण यन्त्र (मशीन) आदिको अविस्कारक को रुपमा भगवान विश्वकर्मा रहेको हुँदा विश्वकर्मा पूजनिय भएको ठहरका साथ यो दिन संसारले बढ्दो धुमधामसँग बाबा को पूजा गर्ने गरिन्छन्।
विश्वकर्माले गरेका अनेक प्रविधि तथा निर्माणका अभ्यासहरूको सम्मान स्वरुप नेपालका अधिकांश मोटर गाडी, ग्यारेज, कलकारखाना ,उत्पादन प्रविधि स्थल र धातुका विविध कार्यहरुमा सक्रिय विभिन्न कार्य स्थल सजाएर चिटिक्क पारी, सजिसजाउ, झकिझकाउ गरी बाबा विश्वकर्माको मूर्तिलाई स्थापित गरी वा फोटो राखेर पूजा गर्ने गरेका छन्। आजको दिन अधिकांश कलकारखाना, यातायातका साधनहरु ,मोटरगाडी ग्यारेज आदिलाई पूजा गरे पश्चात सो क्षेत्रमा लागेका श्रमिकहरु नाचगानको आयोजन गरी रमाइलो गर्ने गरेका हुन्छन् ।भोलि पल्ट मात्र मूर्तिलाई बिधिवत नदी, ताल तलैया वा पोखरीमा सेलाउने परम्परा रहेको छ।
बाबा विश्वकर्मा देवताहरूको वास्तुकार ,भौतिक यन्त्र निर्माता वा भन्नु प्राविधिक विद्वानको रुपमा ख्याति थिए। देवताहरूको निर्देशनमा भवन निर्माण अस्त्र- शस्त्र निर्माण ,रथ निर्माण आदि कार्य गर्ने गरिनु हुन्थ्यो। ब्रह्माजीको पुत्र वासुदेव थियो ,वासुदेव धर्मको सातौं संतान थियो र वहाँको पत्नी अंगिरसी थियो,जसको कोखबाट भगवान विश्वकर्माको जन्म भएको थियो। ऋषि बाबा विश्वकर्मा बुबा वास्तुदेव झैं स्थापत्य कलामा निपुण थिए। बाबा विश्वकर्माको जन्म कन्या संक्राती को दिन भएको थियो। यद्यपि भारतमा बैधानिक रुपमा इस्वी सम्बतलाई मान्यता दिएको हुँदा १७ तारिखको दिन यो विश्वकर्मा पुजा मनाउने चलन छ।
यो वर्ष पुरुषोत्तम मास (अधिकमास) परेको हुँदा विक्रम संवतको दृष्टिले तिथिमा फरक पर्न गएको हुँदा विश्वकर्मा पुजाको दिन अर्थात १ गते असोज कै दिन महिलाहरूको महान पर्व तिज र मिथिला बासीका महान पर्व ‘चौरचन ‘पर्न गएको छ। तीज पर्व भनेको पतिब्रता स्त्रीहरूले आफ्नो पतिको दिर्घायुका लागि गरिने पर्व र उनको आफ्नो सन्तान एवं घरपरिवारका व्यक्तिका सुख शान्तिका लागि चन्द्रमालाई गरिने पूजाको रुपमा रहेको छ। जेहोस यो पर्वहरुले प्रत्येक मानिस भित्र सत्यनिष्ठाको भाव उत्पन्न गर्दै सत्य कर्म गर्न मार्गदर्शकको प्रतिक र समाजमा सद्भाव बनाई राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ।
विश्वकर्मा पूजा मनाउँदा विश्वकर्माको मुर्ति स्थापना गरी सो मूर्तिलाई निष्ठाका साथ विधिवत पूजापाठ गरेर भोलिपल्ट उक्त मूर्तिलाई विसर्जन गर्न नदी, तालतलैया वा पोखरीमा सेलाउनु पर्ने हुन्छ।
सप्तरी, सुनसरी र पूर्वि सिरहाको अधिकांश स्थानका मुर्तिहरू सेलाउन कोशी ब्यारेज स्थित कोशी नदीको पानीमा सेलाउने गरेका हुन्छन्। मुर्तिहरू सेलाउनु संगै श्रद्धालु आफूपनि नुहाउने गर्छन।तर यतिबेला नदीमा पानी बढी भएकोले खतरापूर्ण स्थितिलाई मध्यनजर गर्दै नुहाउने क्रममा सतर्कता अपनाउनु आवश्यक छ। विश्वकर्मा पूजा,तिज एवं चौरचन पर्वको हार्दिक शुभकामना।