सरकारले पत्रकारलाई स्वतन्त्र रूपमा पत्रकारिता गर्न वातावरण बनाउनुपर्छ।
पछिल्लो केहि दिनदेखि सप्तरीका पत्रकारहरु माथि पटक-पटक आक्रमण भइरहेको छ। भदौ १ गते शुक्रवारका दिन नयाँ पत्रिका कर्मी पत्रकार शौरभ यादव माथि केही स्थानीय युवाहरुले षडयन्त्र तहत आफ्नो सुरक्षित इलाकामा बोलाएर कुटपिट गरिएको घटना चर्चामा छन्।यस अघि पनि जिल्लाको सबैभन्दा सुरक्षित स्थान मानिने सप्तरी जिल्ला प्रहरी कार्यालय राजबिराजको परिसरमै एक प्रहरी सहायक निरीक्षक द्वारा पत्रकार मनोहर पोखरेलाई कुटपिट गरिएको घटना र जिल्ला प्रशासन कार्यालयमा पत्रकारद्वय बृजमान तामाङ र डम्बर बहादुर राईलाई कर्मचारीहरू द्वारा गरिएको दुर्ब्यवहार लोकतान्त्रिक व्यवस्थाको ठाडो उल्लंघनको घटना हो।
लोकतन्त्रमा लोकतान्त्रिक वातावरण स्वच्छ राख्न पत्रकारहरुको भूमिका बलियो हुनै पर्छ। यद्यपि पत्रकारहरुले कुनै भ्रष्टाचारीलाई नाङ्गो पार्ने कार्य वा कुनै अपराधीहरूको कर्तव्यलाई सार्वजनिक गर्ने कार्य वा कुनै पीडितको मार्मिकता लाई दुनियाको आगाडी ल्याउने कार्यहरु आदि ,यसप्रकारका मुद्दाहरुलाई पत्रकारिताको माध्यमबाट सार्वजनिक गरिरहँदा नोक्सान हुनेले कुनै नकुनै बहानामा आक्रमण गरिरहेको अवस्था देखिन्छ ।यस अवस्थामा एक स्वतन्त्र पत्रकार लाई स्वतन्त्र पत्रकारिता गर्न बाट बन्चित हुने गरिन्छ। कसैको पक्षमा लेख्यो भने ठीक विपक्ष लेख्यो भने आक्रमण हुने अवस्था रहेमा एक पत्रकारले कुनै घटनाको सत्यतथ्य लेख्न सकिने अवस्था देखिदैन।
लोकतन्त्रमा सुशासन कायम राख्न सञ्चारको महत्वपूर्ण भूमिका हुन्छ ।लोकतन्त्र र स्वतन्त्र सञ्चार एकअर्काको परिपूरक हुन्। स्वतन्त्र पत्रकारिता बिना लोकतंत्र अधुरो हुन्छ।
सप्तरीमा भइरहेको पत्रकारहरुमाथि दुर्ब्यबहारको घटनहरु वा भन्नु लोकतन्त्रलाई नै धरापमा पार्ने किसिमले भइरहेको प्रहरी- प्रशासन एवं गुन्डाहरूको क्रियाकलापलाई समयमै सहज बनाउन सकिएन भने अन्ततः लोकतन्त्र अराजकतामा परिणत हुने हुँदा सम्भावित परिस्थिति उपर सरकारको ध्यान जानु आवश्यक छ।
२०८०।०५।०३