ईमधेश न्यूज,
२५ श्रावण , जनकपुरधाम ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले सप्तरीका पत्रकारहरुको जायज माग सम्बोधन गरी समस्याको निकास खोज्न सङ्घीय गृह मन्त्रालय र प्रदेशका सुरक्षा प्रमुखहरुलाई आग्रह गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साउन २३ गते जारी गरेको सूचना अनुसार पत्रकार समेतलाई उल्लेख गरी बिना अनुमति कार्यालय परिसरभित्रको फोटो तथा भिडियो खिंच्न रोक लगाएको हो । उक्त विषयमा मन्त्री समिमले विहीबार फोन गरेर गृह मन्त्रालयलाई जानकारी गराउनु भएको छ भने मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईलाई निर्देशन दिनुभएको छ ।
वहाँले प्रशासन कार्यालयको उक्त सूचना उर्दी जस्तै भएकोले अविलम्ब फिर्ता लिई नेपाल पत्रकार महासघ सप्तरी शाखासँग वार्ता सम्वादमा आई समस्या समाधान गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिनुभएको छ । पत्रकारहरुमाथि कुटपीट एवम् दुव्र्यवहारका घटनाहरु भएकोप्रति दुःख व्यक्त गर्नुहुँदै वहाँले यस्ता घटनाहरु दोहोरिन नदिनका लागि सचेत गराउनुभएको छ ।
मिडियाको अधिकार कुण्ठित भए लोकतन्त्र नै खतरामा पर्ने भएकोले कुनै पनि बहानामा पत्रकारहरुलाई समाचार सङ्कलन तथा सम्प्रेषणमा अवरोध नपुर्याउन सम्वद्ध सबैपक्षसँग मन्त्री समिमले आग्रह गर्नुभएको छ ।