भुपदेव माली ,
२४ श्रावण , सप्तरी ।
पंचायती ब्यवस्थाको विरुद्ध आन्दोलन होस् वा प्रजातन्त्र स्थापनाको आन्दोलन,लोकतन्त्रको आन्दोलन होस् वा मधेश आन्दोलन इतिहासको सबै जसो आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको प्रेसले यतिबेला प्रहरी प्रशासन बाट असुरक्षा महसुस गरेपछि सप्तरीमा आन्दोलनको घोषणा गरिएको छ ।
सप्तरीमा प्रहरी र प्रशासनबाट सिर्जना गरिएको आतंकित वातावरणको विरुद्ध प्रेस स्वतन्त्रताको खोजी गर्दै बुधबार राति पत्रकारहरुले मैनबत्ती बालेर विरोध कार्यक्रम सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरिएको प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी मान्य नभएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीको वैठकले आन्दोलनमा जाने निर्णय गरेको हो । साउन १५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा अन्नपूर्ण पोष्ट सप्तरी संवाददाता मनोहर पोखरेलको संवेदनशील अंगमा बुटले आक्रमण गरी असई राजेश्वर महतोले ज्यान मार्ने उद्योग गरेका थिए ।
यसरी नै समाचार संकलनमा गएका पत्रकारहरु बृजमान तामाङ र डम्बर राइलाई तीन दिन अघि जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेशमा रोक लगाउँदै दुर्ब्यवहार गरेको थियो । पत्रकारहरुमाथि निरन्तर रुपमा आक्रमण, दुव्र्यवहार र निषेध गर्दै आएको जिल्ला प्रशासन कार्यालयले अन्ततः एक दिन अगाडिको मिति राखी बुधबार कार्यालय भित्रको तस्विर, भिडिओ सामाजिक सञ्जाल, अनलाइन, पत्रपत्रिकामा अनुमति बिना राखे कारवाही गर्ने उर्दी जारी गर्दा सो उर्दी बुधबार राति ८ बजेसम्म फिर्ता लिन नेपाल पत्रकार महासंघ सप्तरी शाखाले गरिएको माँग जिल्ला प्रशासन कार्यालय सप्तरीले फिर्ता नलिएकोले बिहीबारदेखि चरणबद्ध आन्दोलन गरिने नेपाल पत्रकार महासंघ सप्तरीले विज्ञप्ति समेत जारी गरिएको अध्यक्ष श्रवण देवले जानकारी दिए ।
महासंघ सप्तरी शाखाका उपाध्यक्ष वैधनाथ यादवले “पत्रकारमाथि लगातार आक्रमण गर्दै आएको राज्यको निकायले अभद्र व्यवहार, विद्युतीय कारोबार ऐन लगायत कानुनी कारवाहीको तरबार पत्रकारहरुलाई देखाई भयभीत पारेपछि प्रेस स्वतन्त्रताका लागि पत्रकारहरु आन्दोलन गर्न बाध्य भएको” बताए । सप्तरीमा हत्या, हिंसा, मानव अधिकार उल्लघंनका घटनाहरू अत्यधिक बढिरहेको अवस्थामा घटनाहरुको अनुसन्धान हुन नसक्दा लामो समयदेखि रहस्यमै रहदै आएको छ । यसैबेला सबैको मुख थुन्न र आफूलाई शक्तिशाली देखाउन रहर लागेर प्रेसमाथिको आक्रमण तिब्र बनाइएको पत्रकारहरुको ठहर छ ।
अन्नपूर्णकर्मी पोखरेलमाथि भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघ लगायत दर्जनौ संघसस्थाले घोर भत्सर्ना र निन्दा गर्दै दोषीहरुमाथि कडा कारवाहीको माँग गर्दै आएको छ । पोखरेलमाथि आक्रमण गर्नेमाथि कडा कारवाही नभएसम्म एसपी संरक्षक रहेकै सामुदायिक सेवा केन्द्र सप्तरीले समेत पत्रकार आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रहरीको कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने र कार्यक्रम नगर्ने निर्णय सार्वजनिक गरेको थियो ।
महासंघका जिल्ला सचिव रामनारायण विश्वासले प्रशासन द्वारा पत्रकारिता पेसालाई फौजदारी अपराधको परिभाषाभित्र राखेर खुम्च्याउन, निमोठन खोजिएकोले प्रेस स्वतन्त्रता र स्वायत्ततालाई संरक्षण गर्नुपर्ने बेला आएको बताए । महासंघले बिहीबार जिल्लाका विभिन्न संघसंस्थासँग समन्वय गरेर अगाडि बढने जनाएको छ ।