सप्तरीका जनतालाई सुशासन चाहिन्छ,प्रहरी – प्रशासनको आतंक होइन
यतिबेला सप्तरी का प्रशासनिक व्यवस्थामा अधिकारीहरूको मनमानी भएको छ। प्रहरी-प्रशासन माथि न्याय को आश गर्नेहरु अझ बढी पीडा भोग्नुपर्ने र पिडक वा अपराधीहरुलाई जय जय हुने भएको छ। जिल्ला प्रहरी कार्यालयमा एक गरीब परिवारका पीडित व्यक्तिहरूले न्याय माग्न उजुरी दिन जाँदा प्रहरीद्वारा हप्काएर पठाउने, प्रहरीले पीडक वा अपराधीहरूको कुरा सुन्ने, पीडितले पटक-पटक जाँदा पनि उजुरी नलिने गर्नाले पिडितलाई झन पिडा दिने कार्यहरु भईरहेको छ। यसरी नै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी समस्या समाधान गर्ने नाममा धनीको पक्षमा मेलमिलाप गरि पिडितलाई अझ पीडा दिने कार्यहरु भैरहेको स्थिति छ।
एक पीडितलाई न्याय दिलाउने उद्देश्यले कुनै अधिकारकर्मी र सो सम्बन्धी जानकारी लिन कुनै सञ्चारकर्मी( पत्रकार )जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालय पुगियो भने उनलाई प्रहरीद्वारा गालीगलोज सहित अपमानित गरी फर्काउने कार्यहरु गर्ने जस्ता हैकमवादी शैली अपनाएर जिल्लाको सुशासन व्यवस्थालाई नै नष्ट गर्न खोजिरहेको अवस्था छ। साउन १५ गतेका दिन सप्तरीका चर्चित पत्रकार एवं अधिकारकर्मी मनोहर पोखरेलले जिल्ला प्रहरी कार्यालय सप्तरीमा एक तथ्याङ्क माग्न जाँदा प्रहरीले गाली सहित मर्ने गरी कुटपिट गरेर अस्पताल समेत पुर्याएको घटनाले पत्रकारिता जगतमा हस्तक्षेप मात्र नभई लोकतान्त्रिक व्यवस्थामा नै खलल पुर्याउने काम गरेका छन्।
यसरी शान्तिसुरक्षाको प्रत्याभूति गर्ने निकायले नै आफ्नो अनुशासन तथा कर्तव्यलाई कुल्चेर अराजक शैलीमा सुशासन विरुद्ध आतंक मच्चाइरहेको अवस्थामा मुलुकमा शान्ति व्यवस्था धारासायी हुने हुदा यस्ताहरुलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सरोकारवालाहरुले ध्यान पुर्याउनुपर्छ।