सम्पादकीय : सरकारले तराईका हरेक कृषियोग्य भूमिमा सिँचाइको विकास गर्नुपर्छ।
अत्यधिक वनजंगलको फडानी हुनु, तराईमा कृषियोग्य जमिनमा प्लटिङ गर्नु ,चुरे पर्वत श्रृङ्खलामा प्राकृतिक श्रोतको चरम दोहन हुनु अर्थात् ढुङ्गा, बालुवा र गिट्टीको अधिकृत ओसारपसार तथा योजना विनाका बाटाहरू खन्ने काम गर्दा चुरे क्षेत्र जर्जर भई जलवायुमा निकै असर पारेको देखिन्छ। जलवायु परिवर्तन हुनुमा वनजङ्गलको विनाश र अनावश्यक चुरेको दोहन पनि हो। यसले जमिन मुनिको पानी समेत सुक्नुमा प्रभाव पार्दछ ।यि कारणहरुले मानव जाति सँगसँगै पशुपंक्षीको जीवनचक्रमा नै प्रभाव पारेको छ। वन विनाश र जलवायु परिवर्तनका कारण मनसुनको कुनै ठेगान नहुने ,कुनै वर्ष लामो समयसम्म पानी पर्ने वा अत्यधिक वर्षा हुने त कुनै वर्ष खडेरी लाग्ने र विना मौसमको वर्षा हुने गर्दछ।
यो वर्ष मनसूनको प्रारम्भिक चरणमा वर्षा त भयो तर समयानुकूल वर्षा नभएर अधिकांश जग्गामा धान रोप्नी हुन नसक्दा र रोपेका धानको खेतहरुमा पनि पानी सुक्नुका कारण किसानहरु बिचल्लीमा छन्। अब त वर्षा नहुनाले कतिपय स्थानहरुमा कल- नलहरु ( ट्यूबेल )समेत सुक्न गएको छ।
नेपाल सरकारले वातावरणीय नीति तथा कार्यक्रमको कार्यान्वयन तथा प्रकाश कार्यहरुमा वातावरण संरक्षण सवाललाई मूल प्रवाहीकरण गर्नु आवश्यक छ र सरकारले कृषि क्षेत्रमा सिचाईको व्यापक विकास गर्नुपर्दछ। खासगरी तराईको हरेक कृषि भूमीमा नहर वा विद्युतीय बोरिगंको विकास गर्नुपर्छ। अतः जलवायु परिवर्तनबाट सिर्जित समस्याहरूको न्यूनीकरण गर्न र खडेरी बाट बच्न सरकार तथा हामी समेतले योगदान दिने प्रयास गरौं।