आषाढ १५ गते/ सप्तरी।
धानखेती उत्पादनमा रसायनिक मल भन्दा घरायसी मल( घाँस गोबरको मल )उत्कृष्ट हुने हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले बताउनुभएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर ८ योगीनियामा नगरको कृषि शाखा द्वारा आयोजित २० औं राष्ट्रिय धान दिवस कार्यक्रमको अध्यक्षता गर्दै मेयर माझीले सो कुरा बताउनुभएको हो।
कुनैबेला नेपालले अन्य देशमा धान निर्यात गर्ने गरेको थियो भने यतिबेला अन्य देशबाट नेपालले धान आयात गर्नुपरेको अवस्थालाई हटाउन नेपाल सरकारले धानको उत्पादन वढाउन मधेश प्रदेशका किसानलाई हरसम्भव सुविधा प्रदान गर्नुपर्नेमा जोड दिँदै मेयर माझीले खेतीका लागि रसायनिक मल भन्दा घरायसी मल( गोबर घांसको मल) उत्कृष्ट हुने हुँदा घरायसी मल लाई नै बढी प्रयोग गर्दा खेती राम्रो हुने बताउनुभयो।
धान दिवस मनाउने क्रममा खेतमा धान रोपेपश्चात सभामा परिणत भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपमेयर सरिता यादव सिपलिया ,बिशिस्ट अतिथीको रुपमा प्रमुख प्रशासकीय अधिकृत हरि मोहन शर्मा रहेका थिए भने वडा नम्बर-१ का वडाध्यक्ष सुरेन्द्र मण्डल, वडा नम्बर २ का वडाध्यक्ष सन्तोष गोइत यादव, वडा नम्बर ८ का वडाध्यक्ष अजय सिपलिया, वडा नम्बर ३का वडाध्यक्ष विजय यादव ,वडा नम्बर ११ का वडाध्यक्ष मोहम्मद साकिर, कंकालिनी भगवती मन्दिर विकास समितिका उपाध्यक्ष लक्ष्मण मण्डल, बि.पि.स्मारक पब्लिक माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गाईम लगायत नगरको विभिन्न शाखा का अधिकृतहरु तथा कर्मचारीहरूको, पत्रकार, बुद्धिजीवी, समाजसेवीहरु समेतको सहभागिता रहेको थियो।
” जलवायु अनुकुलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि” नाराका साथ २० औं राष्ट्रिय धान दिवस २०८० भब्य रुपमा नगरले मनाएको सो कार्यक्रमलाई विनोद कुमार रजक द्वारा मंच संचालन गरिएको थियो।