ईमधेश न्यूज सम्वाददाता,
राजविराज, २७ फागुन ।
जनता समाजवादी नेपाल सप्तरीले संगठन सदृढीकरणकाका लागि शनिवार क्षेत्रीय भेला सम्पन्न गरेको छ ।
पार्टीका २ नं. क्षेत्रीय अध्यक्ष नारायण प्रसाद यादव “कमरेड”को अध्यक्षता सम्पन्न भेलालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै पार्टीका केन्द्रिय तथा संघीय परिषद सदस्य अमरनाथ मण्डलले पार्टीको वर्तमान अवस्थालाई आत्मसाथ गर्दै संगठनात्मक सुदृढीकरणका लागि सबै पक्ष एकजुट भएर अगाडी बढ्नु पर्ने धारणा राखेका छन् । विगतका दिनमा पार्टीको अवस्था र वर्तमान अवस्थालाई नियाल्दै पार्टीका हरेक सदस्यहरुलाई आ–आफ्नो स्तरबाट पार्टीको हितका लागि सक्रिय हुन उनले आग्रह समेत गरेका छन् ।
सोही कार्यक्रममा विशिष्ट अतिथीको आसनबाट सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्य किरण साहले उपराष्ट्रपति चयनको विषयमा अन्य अन्य पार्टीहरुले गरेको खिचातानी प्रति आश्चर्य व्यक्त गर्दै वर्तमान संविधानलाई स्वच्छ संविधान भन्नेहरु नै अहिले त्यही संविधान संशोधनको आवाज उठाउनु लज्जास्पद भएको बताइन् । जसपाले शुरुदेखि नै वर्तमान संविधानको विरोध गर्दै संविधोन संशोधनको आवाज उठाउदै आएको स्मरण गराउदै जसपाको सुरमा सुर मिलाउने कार्य अन्य राजनीतिक दलहरुले समेत गरेको र वर्तमान संविधानलाई गलत तरिकाले व्याख्या समेत गरेको उनले आरोप लगाईन् । संविधानको गलत व्याख्या गरेर उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवसँग कुनै किसिमको घात भयो भने जसपाले घर–घरबाट आन्दोलन शुरु गर्ने समेत चेतावनी उनले दिईन ।
राजविराज नगरपालिका वडा नं. २ वडा अध्यक्ष अरुण यादवद्वारा संचालित सो भेलामा पार्टीका केन्द्रिय सदस्य अशोक यादव, केन्द्रिय सदस्य रमिला साह, मेधश प्रदेश सचिव युसुफ अली, जिल्ला अध्यक्ष केदार यादव, जिल्ला सचिव हरेराम यादव, जिल्ला कार्य कारिण सदस्य निरज झा, जिल्ला कार्यकारिणी सदस्य लक्ष्मण यादव र साबित्री पण्डित लगायतकाले आ–आफ्ना विचार राखेका थिए ।