भूपदेव माली
फाल्गुन २४ गते, सप्तरी।
सप्तरीको रुपनी गाउँपालिका स्थित मां भगवती इगंलिश एकेडेमीमा १२औं आनन्द स्मृति दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल आनन्द सागर यादवको १२ वर्षअघि यसैदिन मृत्यु भएको दिनलाई हरेक वर्षझैं यस वर्षको बुधबारका दिन वहाँको सम्झना स्वरुप सो स्मृति दिवस मनाईएको हो ।
स्व. यादवले एकेडेमीको संस्थापक प्रिन्सिपलको रुपमा रही २०५२ सालमा स्थापना गरेको र सो एकेडेमीमा हाल कक्षा १० सम्मका लागि पठनपाठन भइरहेको संगै सैकडौ विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गरी सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत भएको सो विद्यालयद्वारा आयोजित स्मृति दिवसका कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व गाउँपालिका अध्यक्ष हरेराम यादवले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथीकोरुपमा नेपाल शिक्षक महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल प्याब्सनका जिल्ला अध्यक्ष दिनेश यादव रहेका थिए।
शिक्षक सूर्य नारायण यादवले मन्च सञ्चालन गरिएको सो स्मृति कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा गाउँपालिका अध्यक्ष दिनेश यादव, अतिथिहरुमा नेपाल प्याब्सनका सप्तरी जिल्ला उपाध्यक्ष सुमन ठाकुर, जिल्ला सचिव रामनाथ मेहता रायपुर मा.वि.का प्रधानाध्यापक परशुराम यादव, एकेडेमीका संरक्षक विन्देश्वर यादव लगायत रहेका थिए।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै दिनेश यादवले “स्वर्गीय यादवले नेपाल प्याब्सनको स्थापना कालमा नेपाल प्याब्सन संग आवद्ध भई संगठन विस्तार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै रुपनी क्षेत्रमा प्रथमपटक संस्थागत विद्यालयको रूपमा यस एकेडेमीलाई स्थापना गरेको यथार्थ अविस्मरणीय भएको” चर्चा गर्नुभयो भने अध्यक्ष हरेराम यादवले “विद्यालयमा अध्ययनरत जेहन्दार छात्रछात्राका लागि स्वर्गीय आनन्दसागर यादवको नाममा अक्षयकोष खडा गर्नका लागि आवश्यक रकम प्रदान गरिने” प्रतिबद्धता व्यक्त गरेका थिए।
यसरी नै सुमन ठाकुर, विन्देश्वर यादव, परशुराम यादवले ” वर्तमान प्रिन्सिपल निर्मला देवी यादवले विद्यालय हितका लागि सकृयता र ईमान्दारीताको परिचय दिदै स्व.आनन्द जी को कमी हुन नदिएको भन्दै शिक्षक अभिभावक बिच समन्वय र सहकार्य हुनु पर्नेमा” जोड दिएका थिए।