भूपदेव माली
पौष २२ गते/ राजबिराज।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१, भारदह स्थित कोशी ब्यारेज सहित जिल्लाको विभिन्न स्थानको कोसी नदी छेउमा आयोजित कोशी स्नान मेला शुक्रबार सम्पन्न भएको छ।
हरेक वर्ष झैँ यो वर्ष पनि पौष पूर्णिमाका दिन अर्थात पौष २२ गतेका दिन सप्तकोशी नगरपालिकाको मेग्दीन – चौरिया, कञ्चनरुप नगरपालिकाको जगतपुर – पथरी,मलकौर,हनुमाननगर कंकालिनी नगरपालिकाको कौशी ब्यारेज,डलवामा कोशी स्नान मेला शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो।
उपरोक्त मेलाहरु मध्ये कतिपय मेलाहरु एक दिन मै समापन हुने भएका छन् भने पत्थरी -जगतपुर भलुवा मलकौर मेरा ,दुई दिने मेला हुन् जो मेलाहरुमा वरपरका ५/७ नजिकका गाउँका मानिसहरुले मनोरञ्जन समेत गर्ने गरेका हुँदा भोली मात्र समापन हुने आयोजक समितिले बताइएको छ।
कोशी नदी एवं स्नानको धार्मिक महत्व
—————————————-
बृहद विष्णु पुराणको मिथिला महात्म्यमा कोशी अर्थात कौशिकीको पूर्व नाम सत्यवती थियो । सत्यवती महान तपस्वी गांन्धिराजको छोरी एवं लै नवल रृचिक मुनिको बार्ता( पत्नी ) थिईन।पति रितिक मुनि उदार हृदय,दानी एवं धार्मिक तपस्वी हुनुहुन्थ्यो भने पत्नि सत्यवती सुन्दरी ,सत्यवादिनी, उत्तम व्रत बस्ने, पतिव्रता स्त्री थिइन्। एक समय पतिको पूजा गर्ने समयमा पत्नी कौशिकीलाई फूल टिपेर ल्याउन भन्दा पत्नी कौशिकी ले आदेश को पाल्ना गर्न जाँदा एक ताल – सरोवरमा स्नान गर्न लागेकोले ढिलो हुने भयो । यता ऋतिकले सत्यवतीलाई खोजी गर्न जाँदा तालमा स्नान गरिरहेको हेर्दा क्रोधित भएर ” अर्को जन्ममा तिमी नदी भएर बग्ने गर्छौं “भन्ने श्राप दिए। श्रापले ग्रसित भएपछि कोशिकले विकल्पको मार्ग बारे आफ्नो पतिसँग अनुरोध गर्दा “कोशीमा स्नान गर्ने व्यक्तिले पाप मुक्त हुने” बरदान दिए।
गांधिराज सुते देवि, विश्वामित्र मुनि श्वास: ।
रिचिक भार्या सतोये,पाटन में हर कौशिकी।।
कौशिकीको पूर्व नाम सत्यवती थियो। सत्यवतीले जग्दानिलाई जन्म दिएर स्वर्गीय भइन्,जो अर्को जन्ममा कोशी नदीको नाउँबाट नामाकरण भई हिमालयको काखमा अवतरित भएको उल्लेख छ।
वाल्मीकिय रामायणमा विश्वामित्रले रामलाई यसरी भन्नुभएको छ – ” सा तु सत्यवती पुण्या सत्येधमें प्रतिष्ठता
पतिव्रता महाभागा कौशिकी सरितां बरा।।
अर्थात पुण्यमयी सत्यवती विभिन्न नदीहरू मध्येको श्रेष्ठ हो।यो नदीमा स्नान गर्दा पापमुक्त एवं मोक्ष प्राप्तिको सौभाग्य प्राप्त हुन्छ।
कोशी नदी हिमालय बाट उद्गम भएको र १९००० फिटको उचाईबाट सप्तरी जिल्लाको पूर्वी भेग हुदै भारतको विहार राज्य स्थित गंगा नदीमा मिसिन्छ। त्यसैले पनि कोशी स्नानको महत्व गंगा स्नानको महत्व झैं रहेको छ।
सप्तरीको कोशी ब्यारेजमा विशाल कोशी स्नान मेला
———————————-
कोशी स्नान मेला नेपाल तथा भारतको बिहार राज्यको विभिन्न स्थानहरुमा आयोजन हुने गर्दछ। सप्तरी जिल्लाको पूर्वी सिमानाको कोशी किनारका मेग्दिन- चौरसिया,जगतपुर – पथरी, मलकोर, भलुवा , कोशी ब्यारेज, हनुमाननगर, डलवा ( कुनौली बोर्डर) मध्ये कोसी ब्यारेजको स्नान सबैभन्दा विशाल एवं आकर्षक मेलाको रुपमा प्रसिद्ध रहेकोछ।
कोसी ब्यारेजको शिलन्यास ३० अप्रिल १९५९ इस्वी मा भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू एवं नेपालको राजा महेन्द्र द्वारा भई निर्माणकार्य सम्पन्न पश्चात सन २८ अप्रिल १९६५ मा राजा महेन्द्र र भारतका लालबहादुर शास्त्री द्वारा संयुक्त रुपमा उद्घाटन भएपछि कोशी ब्यारेजमा पौष पूर्णिमाका दिन विशाल कोशी स्नान मेलाको सुरुवात भएको देखिन्छ।
कोशी स्नान मेला भर्न भारतको बिहार राज्यको विभिन्न ठाउँहरूका र नेपालका विभिन्न जिल्लाहरु बाट लाखौंको संख्यामा मानिसहरू आउने गर्दछन्। मेलामा स्नानको उदेश्यले मात्र नभई ब्यारेजको अद्भुत एवं आकर्षक बनावट अवलोकन, नदीको मनोरम दृश्य हेर्न र नदीको पानीमा वोटको आनन्द लिन पनि आउने गरेका छन्।