संपादकीय
कोशी स्नान मेलामा सावधानी अपनाउनु आवश्यक
हरेक वर्षको पौष महिनाको पूर्णिमाका दिन कोशी नदीको छेउछाउमा लाग्ने गरेको कोशी स्नान मेला मिथिलाको प्रसिद्ध एवं परम्परागत मेला हो।
पूर्वी नेपालको सप्तरी अन्तर्गत सप्तकोशी नपा.को मेग्दिन- चौरिया, कंचनरुप नगरपालिका को जगतपुर- पथरी , मलकौर, हनुमाननगर कंकालिनी नगरपालिकाको भलुवा,कोशी ब्यारेज, हनुमाननगर,डलवा- कुनौली बोर्डरमा यो वर्ष अर्थात् पौष२२ गते देखि आयोजना हुने भएको छ।यी स्थानहरू मध्येको प्राय: मेलाहरु स्थानिय रूपमा अर्थात् ६/७ गाउँका मानिसहरुले मेला भर्न आउने भएपनि कोसी ब्यारेजको मेलामा टाढा -टाढा बाट लाखौंको संख्यामा मानिसहरु आउने गरेको हुदां विशाल एवं आकर्षक मेलाको रुपमा स्थापित भएको देखिन्छ। कोसी ब्यारेजको मेलामा स्नान गर्ने ,ब्यारेजको मनोरम दृश्यहरुको अवलोकन गर्ने ,नदीमा बोटिङ गर्ने र मनोरञ्जन गर्नेहरुको भीड हुने गर्दछ।
मिथिला महात्म्यमा कोशी नदीको उद्धव एवं स्नानको महत्वको बारेमा वर्णन गरिएको छ। त्रृचिक मुनिको भार्या ( अर्धाङ्गिनी ) कौशिकीलाई आफ्नै पतिले दिएको श्रापको कारण नदीको रूपमा परिणत भई हिमालयबाट उद्भव भई गंगा नदीमा संगम भएको उल्लेख छ। भनिन्छ – गंगा नदीको एक ” जौ” भन्दा मात्र कम पुण्य कोशी स्नानमा हुने हुनाले कोशी स्नानको महत्व मिथिलामा प्रसिद्धि पाएको देखिन्छ।
धार्मिक दृष्टिले कोशी स्नानको महत्व भएपनि पौष पूर्णिमाको शितलहरको बेलामा कोशी नदीको चिसो पानीमा स्नान गर्नुले ठूलै चुनौती पूर्ण रहेको छ।स्नानार्थीहरुले चिसो बाट जोगिनु पर्छ र कोशी ब्यारेजमा मेला भर्न आउनेहरुले सवारी साधन बाट ब्यस्त पूल तथा सडकमा ओहोरदोहोर गर्दा सावधानी अपनाउनु आवश्यक छ।