१५ पुस, ०७९
राजविराज । नेपाल मानव अधिकार वर्षपुस्तक २०२३ का लागि सप्तरीमा संकलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको शुक्रबार वार्षिक समीक्षा गोष्ठी राजबिराज स्थित बार एसोसिएसनका सभा कक्षमा सम्पन्न भएको छ।
पुस्तक प्रकाशन पूर्व गरिएको समीक्षा गोष्ठिमा इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा ८९ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना संकलन गरिएको हो। इन्सेक प्रतिनिधि मनोहर पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार एक वर्षको अवधिमा बढी चर्चामा रहेको घटनामा सशस्त्र असईको हत्या घटना र देवरले पेट्रोल छर्केर आगो लगाई भाउजुको हत्या गरेको घटना रहेको छ ।
कार्यक्रममा पछिल्लो समय बालबालिकासम्बन्धी हिंसाका घटना बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।इन्सेकले सार्वजनिक गरेको सन् २०२२ को प्रतिवेदनमा अभिलेखित ८९ हिंसाका घटनामध्ये बालअधिकार हननको घटना मात्रै ३१ वटा सार्वजनिक भए पछि सरोकारवाला चिन्तित बनेका हुन् ।
कार्यक्रममा मधेशमा बलात्कार, अपहरण, हत्याजस्ता घटना भइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले समस्याको कारण केलाउने र निराकरण गर्नेतर्फ सबैले ध्यान दिनु पर्ने बताउनु भयो।
एक वर्षको अवधिमा पीडित र नागरिकबाट प्राप्त सूचना तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीपछि विभिन्न सरोकारवाला निकायको सहयोगमा इन्सेकले गरेको अध्ययन बमोजिम घटना संकलित भएको इन्सेक प्रतिनिधी पोखरेलले बताउनु भयो।
कतिपय घटना सार्वजनिक हुन नसकेको स्विकार्दै इन्सेकले बालिका बलात्कारको २१ घटनामा नौ देखि १८ वर्ष भित्रका २१ जना बालिकाहरु रहेका छन्,जसमा
आरोपित १२ वर्षदेखि ६८ वर्षका २७ जना छन् । सो मध्ये एक जनालाई १० वर्षको कैद सजाय भएको छ । दश जना पुर्पक्षका लागि थुनामा, पाँच जना फरार र दुई जना हालै पक्राउ परेका छन् । बालबिज्याईकर्ता बालकको संख्या पनि बढेको छ ।
यो वर्ष बाल यौन दुव्र्यवहारका ६ घटनामा १३ देखि १७ वर्षका सात बालिका पीडित भएका छन।आरोपितमा १६, १७, २०, २१, २५, ३५ वर्ष उमेरका छन् । आरोपितमध्ये एक जनालाई कैद सजाय भएको छ भने एक जनाले सफाइ पाएका छन् ।
गत वर्ष यौन दुव्र्यवहारमा नौ घटनामा नौ देखि १७ वर्षीया १० बालिका पीडित भएकी थिइन् । बालिका अपहरणको एक मुद्दामा तीन जना फरार छन् भने अर्को एक मुद्दामा आरोपित पुर्पक्षका लागि थुनामा छन् ।
यसैगरी बालक हत्याको रअपहरणको२÷२ घटना अभिलेख गरेको इन्सेकले जनाएको छ ।
कार्यक्रममा बोल्दै न्यायाधीश श्रेष्ठले सरोकारवाला निकायले समाजको प्रतिविम्ब बन्नु पर्ने र अपराधका कारक र समाधानका तरिका खोज्नु पर्ने बताए । रोजगारी बढाउन, नैतिक शिक्षा बृद्धि गर्न र आवश्यक परे सरकारी नीति नै परिवर्तन गरेर पनि समाजलाई परिवर्तन गर्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।
आयोजित कार्यक्रममा अर्का न्यायाधीश हर्कबहादुर क्षेत्रीले विश्वव्यापी र अहरणीय अधिकारबाट कोही बञ्चित हुन नहुने बताउनु भयो। मानव अधिकारको संरक्षण, सम्बद्र्धनमा ठूलो भूमिका खेल्नु पर्ने आवश्यक्ता औल्याउँदै न्यायाधीश क्षेत्रीले आ–आफ्नो भूमिका प्रभावकारी बनाउन सके मात्र मानवअधिकारको रक्षा हुने बताउनु भयो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कमजोर सामाजिक सम्बन्ध र सद्भाव, निम्न चेतनास्तर, सामाजिक बनोट, अशिक्षा र गरिबीले पनि हिंसाका घटनामा बृद्धि भएको बताउनु भयो। अपराधिक घटनालाई राजनीतिकरण गर्ने र अपराधीलाई संरक्षण गर्ने प्रवृतिले अपराध बढने उहाँले बताउनु भयो।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बालअधिकार हननको घटनामा कमी ल्याउन नागरिकमा चेतना बढाउन आवश्यक रहेको बताउनु भयो ।
इन्सेकका मानार्थ केन्द्रीय सदस्य बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी नायव उपरिक्षक नरेश सिंह, कारागार कार्यालय प्रमुख किशोर राम, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, जिल्ला बार एकाई सप्तरीका कोषाध्यक्ष मनु खनाल, आदिवासी जनजाती महासंघकी प्रिया सिंह थारु, अधिकारकर्मी सुशिला लोहनी, सहयोगी समाजका रामप्रसाद चौधरीले हिंसा नियन्त्रणका लागि राज्यले सकृयता र निगरानी बढाउनु पर्र्नेमा जोड दिएका थिए।
इन्सेकद्वारा सार्वजनिक प्रतिवेदनमा १२ जनाको हत्या घटना अभिलेखित छ । सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असईको पोष्टभित्रै हत्या गरेको आरोपमा सशस्त्र प्रहरी जवान पुर्पक्षका लागि थुनामा रहेको उल्लेख छन् ।
यस्तै ६० वर्षीय बृद्धको हत्यामा २० वर्षीय युवक पुर्पक्षका लागि थुनामा छन् । नवजात शिशु र ५० वर्षीय पुरुषको हत्याको कारण र अभियुक्त पत्ता लाग्न सकेको छैन् । १७ वर्षीय बालकको मृत्यु घटनाको अनुसन्धान हुन सकेको छैन् ।
यसैगरी यो अवधिमा ४ महिलाको समेत हत्या भएको छ । कुटेर पत्नीको हत्या गर्ने २ घटनाका आरोपित दुई जनामध्ये एक जनालाई ६ महिना कैद र अर्कोलाई सर्वस्वसहित जन्मकैदको सजाय भएको छ । साइकलले बालकलाई ठक्कर दिएको विषयमा बढेको विवाद र कुटपिटबाट छोरालाई जोगाउन आएकी ६० वर्षीया बृद्धाको गाउँलेले नै कुटपिट गर्दा मृत्यु भएको छ ।