भूपदेव माली,
राजविराज १० मंसिर ।
कक्षा १२ को दोश्रो दिनको परिक्षा आज देशव्यापी रुपमा सम्पन्न भएको छ ।
२०७७ बैशाखमा हुने सो परिक्षा कोरोना महामारीका कारण ७ महिना पश्चात हुन लागेकोमा परिक्षा नियन्त्रण कार्यालय द्वारा परिक्षार्थीहरुको स्वास्थ्यलाई दृष्टिगत गरी परिक्षा सम्पन्न गर्न निर्देशन दिएपनि कतिपय परिक्षा स्थलहरुमा यसको पालनामा गर्न लापर्वाही गरेका छन् ।
सप्तरी जिल्लाको मा.वि. बोदेबरसाईन परिक्षा स्थलमा स्वास्थ्य जाँच विना नै परिक्षा कोठामा प्रवेश गराएको प्र.अ. गौरीशंकर चौधरीले स्विकार गरेका छन भने राजविराज स्थित रहेका प्रायः अधिकांश परिक्षा स्थल हरुमा परिक्षार्थीहरुको स्वास्थ्य जाँच गर्न स्वास्थ्य कर्मीहरु अनुपस्थित रहेकोमा नगरका स्वास्थ्य अधिकृत निरञ्जन यादवसँग प्रश्न राख्दा विद्यालयहरुले स्वास्थ्य शाखामा जानकारी गराएपनि स्वास्थ्यकर्मीलाई भत्ता दिने परिक्षा केन्द्रहरुमा मात्र स्वास्थ्यकर्मीलाई खटाईएको बताए । यसरी नै कंचनरुप नपा स्थित रुपनगर मा.वि. का प्र.अ. गंगा साहले पनि आफ्नो परिक्षा स्थलमा परिक्षार्थीहरु स्वास्थ्य जाँचको अनिवार्यतालाई आवश्यक नभएको बताए ।
सप्तरीकै हनुमाननगर अन्तर्गत रहेका सबै परिक्षा केन्द्रहरुमा सुरक्षा व्यवस्था लगायत शिक्षा निर्देशनालयले तोकेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्डलाई महत्व दिदै पालना गरेका छन् । हनुमाननगर कंकालिनी नपा अन्तर्गत पोर्ताहा स्थित रोयल सेकेन्डरी स्कूलको परिक्षा केन्द्रमा स्वास्थ्य चौकी प्रमुख बद्री नारायण यादव सँग प्रश्न राख्दा, परिक्षामा सहभागी हुने प्रत्येक परिक्षार्थीहरुको स्वास्थ्य परिक्षण गरी, समाजिक दुरी, सेनेटाईजरको प्रयोग लगायत मास्क प्रयोगलाई अनिवार्य प्रयोग गर्न लगाएको प्रतिक्रिया सँगै कोरोना महामारीसँग बच्ने र अरुलाई पनि बचाउने बारे परिक्षार्थीहरुलाई जनचेतना सम्बन्धी प्रशिक्षण समेत दिएको बताए । वहाँले भन्नु भयो हनुमाननगर कंकालिनी नपा का मेयर शैलेष कुमार साहको निर्देशनमा हामीलाई नगरले स्वास्थ्य सम्बन्धी सम्पूर्ण सामग्रीहरु उपलब्ध गराएको बताए ।
कक्षा १२ को परिक्षा सम्पन्न गर्न राष्ट्रिय परिक्षा बोर्डले प्रत्येक परिक्षा केन्द्रलाई स्थानीय तहका स्वास्थ्य शाखा सँग सहकार्य गरी परिक्षा सम्पन्न गर्न निर्देशन भएपनि कतिपय विद्यालयका प्र.अ. तथा स्थानीय तहहरु द्वारा गरिएको लापर्वाहीले परिक्षार्थी सँग खेलवाड गरेको जनगुनासो व्याप्त छ ।