भूपदेव माली
कार्तिक २४ गते/ राजबिराज।
नेपाल कम्यूनिष्ट पार्टी एमाले एवं जनता समाजवादी पार्टी नेपालले चुनावी तालमेल गरेको हुदा आउँदो मङ्सिर ४ गते हुने आसन्न निर्वाचनको परिणामपछि देश एवं मधेस प्रदेशमा नेकपा एमालेको सरकार बन्ने निश्चित नेकपा एमालेका नेतृ सरिता गिरी यादवले बताउनु भएको छ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर- २ बरमझीयाको पण्डित टोल स्थित मधेस न्यूज का पत्रकार भूपदेव माली सँग साक्षात्कार हुँदै नेतृ यादवले सो कुरा बताउनुभएको हो।
मधेसमा एमालेका नेता केपी शर्मा ओलीको लोकप्रियता जसपा नेपालसँग गरिएको चुनावी तालमेल पश्चात अझ बढ्दै गएकोले पनि मंसिर ४ गते प्रतिनिधिसभा सदस्य पद एवं प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनमा मधेसबाट पनि सबैभन्दा बढी सिट हासिल गर्ने बताउँदै देशमा पनि सबभन्दा बढी सिट हासिल गरी एमालेको सरकार बनाएर सुखी नेपाली- समृद्ध नेपालको सपना साकार हुने नेतृ यादवले बताउनुभयो।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको साढे दुई वर्षे सरकारको कार्यकालमा भएको विकास कार्य बारे चर्चा गर्दै नेतृ यादवले-” कयौँ दशक देखि लथालिङ्ग रहेका मधेशका हुलाकी मार्ग निर्माण कार्य, अन्य सडकहरूको निर्माण कार्य, लोकमार्गको फोरलेनमा परिणत गर्ने कार्य, कोशी – कमला सिचाई योजना, राजबिराज स्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना देखि असंख्य उत्कृष्ट कार्यक्रमहरु दिएको हुनाले मधेश प्रदेशमा व्यापक लोकप्रिय भएको बताउनुभयो।