भूपदेव माली
आश्विन १५ गते/राजबिराज।
देशमा प्रजातन्त्रको स्थापना देखि लोकतन्त्रको तिस वर्षको अवधिसम्म कुनै पनि सरकारले गर्न नसकेको विकास कार्य नेकपा एमाले नेतृत्व सरकारले साढे दुई वर्षमै गरेको नेकपा एमालेका राष्ट्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो।
शनिबार सप्तरीको कन्चनरुप नगरपालीका वडा नम्बर १२ धर्मपुरमा एमालेका भातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपाल द्वारा आयोजित मधेस प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी घोषणाका तथा बिशाल आम सभामा प्रमुख अतिथिको आशनबाट अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।
लगभग ४५ हजार जनताहरुले सहभागी भएको सो आमसभा कार्यक्रममा “एमाले सरकारको कार्यकालमा मधेसका शहरहरुलाई स्तर उन्नती गरी स्मार्ट २२ वटा जिल्लाहरुमा शहरी विकास योजना कार्यक्रम, पूर्वपश्चिम राजमार्गको चार लेनको अन्तराष्ट्रिय मापदण्डको सडक निर्माण, मदनभण्डारी फाष्टट्रेक ( निजगढ देखि काठमाडौ सम्म) सडक निर्माण योजना ,पूर्वपश्चिम रेलमार्ग योजना, मधेसका प्रत्येक सडकलाई १-१लेन सडकको निर्माण, मधेसमा ओझेलमा रहेका हूलाकी मार्गको निर्माणकार्य मेरो नेतृत्वको एमाले सरकारको कार्यकालमा सम्भव भएको बताउँदै अध्यक्ष ओलीले कोशी नदी एवं कर्णाली नदी भएर कलकत्ताबाट पानी जहाजको माध्यमले सामान आयात गर्ने बन्दरगाहको योजनाहरु, तमोर, अरुण नदीको पानी डाइभर्सन गरी मधेशको लाखौं विगाहा जग्गा सिंचाई तथा विद्युत् उत्पादन गर्ने हाइड्रोपावर निर्माण योजना हाम्रो सरकारले ल्याएको हो, जो निकट भविष्यमा पुराहुने बताउनुभयो। उहाँले “देशमा जेष्ठ नागरिक भत्ता, समाजिक सुरक्षा भत्ता, दलितलाई आवास कार्यक्रम एवं सुकुम्बासीहरुलाई जमिनको व्यवस्था लगायत असंख्य उत्कृष्ट कार्यक्रमहरु ल्याएको “बताउँदै “जनतालाई सुखी र देश समृद्ध पार्न देशमा नेकपा एमालेको सरकार हुनु आवश्यक भएको हुँदा आउँदो मंसिर ४ गते हुने निर्वाचनमा सूर्य चिह्नमा मतदान गर्न समेत आग्रह गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तब्य राष्ट्रिय युवा संघ नेपालका सप्तरी जिल्ला इन्चार्ज मनिष श्रेष्ठले राखेका थिए भने प्रदेश सभा सदस्य सरिता गिरी यादव ,एमालेका केन्द्रीय सदस्य राजकुमार लेखी ,केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज दिबाकर देवकोटा, पोलिटव्यूरो सदस्य सुमन प्याकुरेल, केन्द्र सदस्य किरण पौडेल, युवा सङ्घका केन्द्रीय अध्यक्ष महेश बस्नेत लगायतकाले राष्ट्रिय विषयमा आ-आफ्ना बिचार राखेका थिए।