भूपदेव माली
आश्विन ११ गते/राजबिराज
भारदहको कंकालिनी भगवती मन्दिरमा दशैं पूजा २०८९ सम्पन्न गर्न भब्य तयारी गरेको छ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदह स्थित पूर्व -पश्चिम लोकमार्ग छेउमा अवस्थित सो कंकालिनी मन्दिरमा बर्षेनी लाखौं भक्तजनहरूको भीड एवं सात सयभन्दा बढी रागां (पाडा) बलि प्रदान हुने हुँदा अनियन्त्रित भिडलाई ब्यवस्थित गर्न अग्रिम तयारी गरिएको हो।
गत वर्षहरुमा दशैंको नवमीका दिन अत्यधिक भिडका कारण भक्तजनहरु लाई हुने असुविधालाई ध्यानमा राखी ब्यवस्थित रुपमा स्वयंसेवक परिचालन गर्नुको साथै मन्दिर क्षेत्रमा सरसफाई गरिएको तथा मन्दिरलाई दुलही झैँ सिंगारिएका छन्।
मन्दिरमा पूजा गर्ने भक्तजनहरुको घुइचो हुन नदिन पूजा गर्नेहरुको छुट्टै पंक्ति र खसीबोका बलि दिने भक्तजनहरुको छुट्टै पंक्ति लगाउने ब्यवस्था गरिएको मन्दिर विकास समितिका उपाध्यक्ष चन्दन कापेरले बताउनुभयो।
यसरीनै रागां बलि हुने महिषासुरको परिसरमा रागांको पंक्ति लगाउने छुट्टै टोली,बलि प्रदान गराउने छुट्टै टोली र रागां तानेर बांधसम्म पुर्याउने छुट्टै टोलीको ब्यवस्था गरिएको महिषासुर स्वयंसेवक संयोजक बच्चालाल मण्डलले बताए।
मन्दिरमा पूजा गर्ने भक्तजनहरुको सुविधाका लागि हामी गाउँका अत्यधिक संख्यामा युवाहरु परिचालन गर्ने स्थानीय राजकुमार गाईमले बताउनुभयो।