भूपदेव माली
भदौ २५ गते/राजबिराज
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-१ भारदह स्थित कंकालिनी भगवती मन्दिरको बृहत विकास एवं ब्यवस्थापनका लागि कार्यरत रहेको कंकालिनी भगवती मन्दिर विकास समितिको सनिवार चौथो साधारण सभा सम्पन्न भएको छ।
संस्थाको विधान अनुसार प्रत्येक वर्ष साधारण सभा गराउनु पर्नेमा कोरोना महामारीको कारणले गर्दा निर्धारित समयमा हुन नसक्नुमा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९को संयुक्त रुपमा एकै पटक साधारण सभा सम्पन्न भएको हो।
मन्दिर विकास समितिका अध्यक्ष राम नारायण मण्डलको अध्यक्षता एवं नगर प्रमुख विरेन्द्र माझीको प्रमुख आतिथ्यमा सम्पन्न सो सभामा सल्लाहकार समिति सदस्यहरु, समितिको साधारण सदस्यका प्रतिनिधिहरू, बुद्धिजीवी, समितिका पूर्व पदाधिकारीहरु लक्ष्मण मण्डल, जितेन्द्र खड्गा, गजेन्द्र माझी, श्याम सुन्दर मण्डल लगायतका उपस्थिति रहेको थियो।
सभामा कार्य समिति द्वारा आन्तरिक आम्दानी एवं बाहिरी आम्दानी गरी जम्मा आम्दानी ७३७२६४६/७७ देखाएको र सो मध्ये खर्च गरेर बाँकी मौज्दात बैंकमा ११३९१५३/८२ , नगद तर्फ ५१३२८९/९५ र पेश्कीतर्फ ८५५३९१/२१ रहेको सार्वजनिक गरिएको थियो।