भुपदेव माली
राजविराज, २७ असार ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ७ स्थित केशव मण्डलको घर अगाडी सोमवार भएको सडक ढलान कार्य मापदण्ड विपरित भई रहेको छ ।
गाउँपालिकाका इन्जिनियर र प्राविधिकले तयार गरेको इस्टिमेट अनुसार सडक निर्माण कार्य नभएको स्थानीयहरुले बताएका छन् ।
इस्टिेमेट अनुसार छड (रड)को फरक १२÷१२ इन्च राखे पनि सडक ढलानको समयमा सो भन्दा २ दुई इन्चको फरकमा रड लगाएको पाइएको छ भने ढलान कार्यमा प्रयोग गरिएको सिमेन्ट, बालुवा र गिट्टी समेत मापदण्ड विपरित नै प्रयोग गरिएको पाइएको छ । कोटेशन मार्फत कार्य आदेश लिएर स्थानीय भजेन्द्र मण्डलले सडक ढलान कार्यमा कुनै किसिमको त्रुटी नरहेको दाबी गरेको छन् भने भजेन्द्रकै अगाडीमा रडको नाप गर्दा इस्टिमेट अनुसारको नरहेको देखिएको थियो ।
यस सम्बन्धमा सो वडाका वडाअध्यक्ष हरिनारायण मण्डलले समेत सडक ढलानको कार्यमा कुनै किसिमको लापरबाही नगरेको दाबी गरेका छन् । वडाअध्यक्ष मण्डलले मधेश न्यूज संवाददातासँग संक्षिप्त कुराकानी गर्दै आफ्नो वडाको कुनै विकासीय कार्यमा लापरबाही नगरिने बताए । तर, सोही सडकको सम्बन्धमा स्थानीयबासी केशव कुमार मण्डल सहितका व्यक्तिहरुले सडकको कार्य गुणस्तरहीन तथा मापदण्ड विपरित भई रहेको भन्दै कार्य रोकिनका लागि निवेदन दिएका छन् । तर वडाअध्यक्ष मण्डलले निवेदन उपर कुनै सुनुवाई नगरी मापदण्ड विपरितका ढलान कार्य गर्नमा लिप्त रहेको देखिएको छ ।