भूपदेव माली,
राजविराज ,०२ मंसिर ।
मधेशभरि आज भरदुतिया (भातृद्वितिया) पर्व मनाईएको छ ।
हरेक वर्ष दिपावलीको तेश्रोे दिन अर्थात गोवर्धन पूजाको भोली पल्ट यो पर्व मनाईने गरेको परम्परा छ । भातृद्वितिया भनेको दाजु–भाईले दिदी–बहिनी प्रति दर्शाउने स्नेह प्रेमको प्रतिक पर्व हो । हरेक दिदीबहिनी हुनेहरुले यो पर्वको दिन तिनको घर गई न्यौता लिने गरेको परम्परा छ ।
आज भातृद्वितिया पर्व मनाउने उद्देश्यले हरेक घरबाट कमसे कम एकजना बहिनी वा दिदीको घरको यात्रा क्रमले विहानै देखि सडकहरुमा सवारी साधनको अधिक चापले धुलोले गर्दा वातावरण नै दुषितभएको देखियो । यात्रुवाहक बसहरुमा क्षमता भन्दा वढी यात्रीहरुको पनि भीड रहेको थियो । कतिपय स्थानहरुमा सडक दुर्घटना पनि भएका छन् ।
भातृ द्वितिया पर्वलाई मैथिलीमा भरदुतिया भनिन्छ । यो पर्व हिन्दु धर्मालम्बीहरु हरेक समुदायमा मनाउने गरिन्छ । नेपालीमा यसलाई भाईटिका भनिन्छ । यो दिन बहिनीको घर पुग्दा मुरही(भूजा) मिठाई, फलफूल, लुगाफाटा र सृगांर सामग्रीहरु सौगातको रुपमा दिने चलन छ ।
दिदीबहिनीले आफ्नो दाईभाईका लागि आफ्नो घरआँगन चिटिक्क पारेर राखेका हुन्छन । आँगनमा गोबरले लिपीको ठाउँमा बसाएर भाईदाईलाई फूलका माला पहनाएर मिठाई खान दिएपछि न्यौताको रुपमा स्नेह प्रतिक सुपारी दिने गर्छन । यो विधि सम्पन्न पश्चात मिठो परिकारका खाना खान दिन्छन् ।
भाईटिका अर्थात भरदुतिया पर्व प्राचिनकाल देखि नै मधेशी समाजमा मनाउने चलन रही आएको छ । कतिपयको ३।४ दिदीबहिनी रहेका हुनाले एक दिनमा सबै ठाउँमा भ्याउन नसक्दा भोली पनि पुग्ने गरिन्छ । अर्थात यो पर्व आज र भोली सम्म रहने भएको देखिन्छन् ।