भूपदेव माली
फागुन ४ गते/राजबिराज
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं-१, भारदह स्थित कोशी पश्चिमी नहरको किनारमा बेवारिसे अवस्थामा एक शव फेला परेको छ।
नहरको डिलमा बेवारिसे अवस्थामा एक साईकल स्थानीय मानिसहरूले देखेपछि नहरको साइफनबाट निस्किने पानीको नालामा हेर्दा सो शव फेला परेको हो।
घटना स्थलमा तत्काल ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्रहरी नायव निरीक्षक संजय न्यूपाने नेतृत्वको टोली र ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी टोली पुगेर पानीमा घोप्टो परेको खुट्टा मात्र बाहिर रहेका सो शवलाई बाहिर निकालेर खानतलासी गरिएको थियो।
अन्दाजी ३०-३२ उमेर भएका पुरुषको शव रहेको आँकलन गरेपनि मृतकको पहिचान गर्न नसकेपछि शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको ई.प्र.का.भारदहका प्रमुख न्युपानेले जानकारी गराए।