भूपदेव माली,
राजविराज, ०५ बैशाख ।
नेपाल सरकारको वन तथा वातावरण मन्त्री नवल किशोर साह (रामबाबु) द्वारा राजनेता गजेन्द्र नारायण सिंहका विभिन्न सालिकहरूमा माल्यार्पण गरेका छन्।
बुधबार रामनवमीका दिन सद्भावना पार्टीका संस्थापक अध्यक्ष राजनेता स्वर्गीय गजेन्द्र सिंहको ९६औं जन्मजयन्तीको अवसरमा सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १४ रामपुर स्थित स्वर्गीय सिंहको, वडा नम्बर ४ मधवापुरको चौराहा र ढोडवा चौक स्थित सिंहका सालिकहरूमा मन्त्री साहले माल्यार्पण गरेका हुन्।
मधेसका मसिहाको रूपमा प्रसिद्धि पाएका राजनेता स्वर्गीय सिंहको शालिकमा माल्यार्पण समारोह कार्यक्रममा नगरका पूर्व मेयर सैलेश कुमार शाह ,उपमेयर सरिता देवी सिपालिया यादव, जनता समाजवादी पार्टी नेपालका नेता रामचन्द्र शाह, नेता सत्यनारायण यादव, मधेस प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादव, जसपा नगर अध्यक्ष सन्तोष यादव, वडा नम्बर १० का वडाध्यक्ष शिवचन्द्र मुखिया लगायत जनता समाजवादी पार्टीका सयौं नेता एवम कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
सोही कार्यक्रममा जसपा नेता विकास तिवारीद्वारा लिखित ’गजेन्द्र दर्शन’ नामक पुस्तक मन्त्री साहलाई भेट गरेका थिए।
यसरी नै मन्त्री शाहले कञ्चनरूप नगरपालिका ५ स्थित नव युवा एकता समूह पिप्रापूर्व द्वारा सञ्चालित फुटबल प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथिको रुपमा समापन गर्नुभयो ।
अन्तिम खेलमा शम्भुनाथ एवं बेंगरीका टिमको बीच प्रतिस्पर्धा हुँदा बेंगरीका टिमले चार गोलबाट विजय भएका थिए । विजेता टिममा अभिषेक चौधरी २ गोल र आशिष चौधरी एवं दिपेश चौधरीले एक–एक गोल हानेका थिए ।
सम्पन्न कार्यक्रममा नगरका मेयर ललनप्रसाद गुप्ता, उपमेयर लिप्ती मुना पोखरेल र भोला पासमान समेतको उपस्थिति रहेको थियो।